माओवादीको उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशस्तरिय परामर्श समितिको बैठक सुरू – Nepal Press

माओवादीको उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशस्तरिय परामर्श समितिको बैठक सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ।

उपत्यका विशेष तथा सम्पर्क समन्वय परामर्श समितिको बैठक भोलिसम्म चल्नेछ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ससामयिक राजनीतिक परिस्थिती, पार्टीको आगामी कार्यदिशालगायतको बिषयमा ब्रिफिङ गरिरहेका छन्।

अध्यक्ष प्रचण्डको ब्रिफिङपछि नेताहरुलाई बोल्न समय दिइने बताइएको छ। यो बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले ल्याएको नेतृत्व हस्तान्तरणदेखि पार्टी निर्माणबारेको प्रस्तावमा पनि छलफल हुनेछ।

यसअघि दुई दिनसम्म चलेको बागमती प्रदेशको बैठकले शर्माले पार्टी फुटाउँदैछ भन्ने भ्रमलाई हटाएर नयाँ ढंगले जाने निष्कर्ष निकालेको थियो। बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए ।

उनले थपे, ‘एकताबद्ध हुनुपर्छ अहिले नेतृत्वको बारेमा छलफल बहस गर्ने बेला होइन। यो अन्र्तरसंघर्षको समय होइन वर्ग संघर्षको समय हो। सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्छ । पार्टी फुट्दैछ भन्ने तरंग हटिसक्यो।’

बैठकमा बोल्ने नेताहरुले प्रचण्डलाई आलोचनात्क सुझाव दिनुका साथै केही नेताहरुले शर्माको १२ पृष्ठको प्रस्तावलाई समर्थन जनाएका थिए।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने माओवादीको निर्णय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर