सफल उद्यमी कविता, जसले श्रीमानलाई अस्ट्रेलियाबाट स्वदेश फर्काइन्
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ मणिग्रामकी कविता पाण्डेलाई नौ वर्षअघि श्रीमानले सँगै बस्न अस्ट्रेलिया बोलाए । उनले जाने तयारी पनि गरिन्, तर दुई पटकको प्रयाससम्ममा कविताले भिसा पाइनन् ।
श्रीमान रवीन्द्र भुसालले कवितालाई भिसाका लागि फेरि प्रयास गर्न भने, तर उनी गइनन् । ‘श्रीमानले फेरि काजगपत्र लिएर भिसाका लागि तयारी गर्न भन्नुभएको थियो, तर मैले दुई पटकको प्रयासमा सफल नभएपछि अब नेपालमै केही उद्यम गरेर बस्ने कुरा श्रीमानलाई सुनाएँ’, कविताले भनिन्, ‘उहाँ अस्वीकार गर्नुभएन र मैले काम थालें । त्यसको दुई महिनापछि उहाँ आफैं अस्ट्रेलिया छाडेर नेपाल आउनुभयो ।’
उनले अस्ट्रेलिया जान छाडेर कालिका बुटिक एण्ड टेलरिङ सेन्टर सञ्चालनमा ल्याएकी थिइन् । उक्त व्यवसायले कविताको परिवारमात्रै पालेको छैन, थप दुई जनाले रोजगारी पाएका छन् । सिजनमा अरुले पनि काम पाउने कविताले सुनाइन् ।
‘दुई पटकसम्म अस्ट्रेलियाको भिसा क्यान्सिल भएपछि व्यवसाय गर्ने योजना बनाएकी थिएँ’, कविताले थपिन्, ‘धेरै महिलाले घरको काम सकेर पनि यस्ता उद्यम गरेका छन् । मैले पनि घरको काम सकेर व्यवसाय गरिरहेको छु । दुई वटा बच्चा छन्, तर पनि समय मिलाएर गरेको छु ।’
विसं २०७३ साल साउनमा उनले उक्त व्यवसाय सुरु गरेकी थिइन् । काम थालेको केही महिनामै कविताले आफ्नाे व्यवसायमा सहकार्य गर्न भन्दै श्रीमानलाई नेपाल बोलाइन् ।
‘मैले व्यवसाय सुरु गरेको करिब दुई महिनामा श्रीमान् पनि नेपाल आउनुभयो’, उनले भनिन्, ‘अहिले यताको काम सिस्टममा चल्न थाल्यो र उहाँलाई पनि बाहिरको काम गर्न समय मिलेको छ । महिलाले समय निकालेर गरे धेरै कुरा सम्भव छ ।’
कविताले विदेश जान जुटाएको ६ लाख ७१ हजार रुपैयाँ लगानी गरेको बुटिक सञ्चालनमा ल्याएकी थिइन् । उनको व्यवसाय अहिले यस क्षेत्रकै नमुना मानिन्छ । जसअनुसार उनी केही समयअघि तिलोत्तमा नगरपालिकाले सम्मान गरेका १० उत्कृष्ट महिला उद्यमीमध्ये कविता पनि एक हुन सफल भइन् ।
व्यवसायले रफ्तार लिएपछि लगानी बढाएर १५ लाख पुर्याएको उनको भनाइ छ । ‘धेरैलाई लाग्नसक्छ, रकम अभावमा महिलाले काम पाएनन्, समय नमिलेर काम गर्न पाइएन, तर त्यसो होइन’, उनले भनिन्, ‘हरेक महिला आफू आत्मनिर्भर हुन केही न केही गर्नुपर्छ, घरको कामबाट समय निकालेर केही सीपका योजनालाई अगाडि बढाउनुपर्छ ।’
कविताका ७ वर्षकी छोरी र ३ वर्षका छोरा छन् । ‘आफ्नो हातमा सीप भएपछि धेरै समस्या समाधान गर्न सकिन्छ’ उनले भनिन् ।
उनले अर्डरअनुसारका विवाहमा लगाउने दुलाहादुलहीको सेट, पास्नी सेट, विवाह तथा अन्य समारोहमा लगाइने फेमिली सेट उत्पादन गर्दै आएकी छन् ।
बुटिक व्यवसायीहरुका अनुसार यस्ता वस्तुमा धेरै भारतीयले काम पाएका छन्, तर नेपालीको जस्तो राम्रो डिजाइन हुँदैन । नेपालीले धेरै उत्पादन गर्न नसक्दा पनि भारतीय उत्पादन प्रयोग भइरहेको उनीहरुको भनाइ छ । त्यसकारण पनि कविता जस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्न र उनीहरुको बजार प्रवर्द्धन गर्नुपर्ने व्यवसायी कृष्ण खनाल बताउँछन् ।
विदेश नजाने अठोटका साथ स्वदेशमै केही गर्ने सोच बनाएर यो काम सुरु गरेकाले सफलता पाएको कविताको ठम्याइ छ । ‘जे काम गर्ने हो, ढुक्क तरिकाले त्यसैमा ध्यान दिएर अगाडि बढाउनुपर्छ, एक पटक हार खाएर निराश हुनुहुँदैन, म अब विदेश जान्न भनेर ढुक्क तरिकाले यही कामबाट भविष्य खोजेर सफल भएकी हुँ’, उनी सुनाउँछिन् ।
सिजनको बेला आवश्यक मजदुर करार र ज्यालादारीमा व्यवस्था गरेर काम गर्दै आएको उनले बताइन् । ‘मासिक रुपमा आम्दानी ७० हजारभन्दा बढी नै गरेको छुु’, कविताले भनिन्, ‘ठूलो परिमाणमा गरे त्यहीअनुसारको आम्दानी नि बढिहाल्छ, तर मैले आफ्नो परिवारको समयअनुसार बढाउन सकेको छैन ।’
उनले खासगरी १५ वर्षमुनिका बालबालिकाको लागि आवश्यक पर्ने पोशाक उत्पादन गर्ने योजना रहेको सुनाइन् । ‘अहिलेसम्मको कामले धेरै सिकाएको छ, अब थप नयाँ तरिकाले अगाडि बढ्ने योजनामा छु, १५ वर्षमुनिका बालबालिकाको पोशाकको माग आएको छ, हामी त्यसमा काम गर्दैछौं’, उनले भनिन्, ‘मणिग्राम चाेकमा आउटलेट खोल्ने तयारी छ ।’