इलाममा बेसारको व्यवसायिक उत्पादन सुरु
मङ्गलबारे (इलाम) । इलामको रोङमा व्यवसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ ।
गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो । गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए ।
चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ । उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसार बजारमा ल्याइएको छ ।
बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । गएको वर्षबाट नै किसानलाई बीउ वितरण गरिएको उनको भनाइ छ । गाउँपालिकाले सहकारीलाई बेसार वितरण गरेको थियो । बेसार एक किलो ग्रामबाट २० किलो ग्रामसम्म उत्पादन भएको छ । बँदेल, बाँदरलगायतका जङ्गली जनावरले बारीमा लगाइएको अन्न तथा नगदेबालीमा असर पुर्याउन थालेपछि किसानले बेसार लगाउन थालेका हुन् ।
हाल २९५ किलो धुलो बेसार तयार भएको बताइएको छ । सहकारीमा ४५५ सदस्य छन् । यस वर्ष एक हजार ९९५ किलो बेसार गाउँपालिकाका वडा नं ३, ४ र ५ मा वितरण गरेर खेती गरिएको छ । यसको बजार खोज्न समस्या नभएको बताइएको छ ।
झापाको विर्तामोड नजिकै भएकाले पनि यहाँ उत्पादित बेसारलाई बजारीकरणमा खास समस्या नरहेको बताइएको छ । बेसार दैनिक उपभोग्य वस्तु भएकाले रोङमा आएर पनि उपभोक्ताले बेसार लैजाने गरेको किसानको भनाइ छ । तयारी बेसार ५०० देखि एक हजार रुपैयाँ प्रतिकिलो पर्ने गरेको छ । -रासस