लुम्बिनीमा १२४ जना वन कर्मचारीको एकै पटक सरुवा
रुपन्देही । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं तहसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् ।
मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीतिबमोजिम अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको मन्त्री कुर्मीले बताए ।
एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको जानकारी दिँदै उनले कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएको बताए ।
वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको निर्णय गरेको मन्त्रालयले जनाएको छ ।