सामरी पुलको ठिटो राजको ‘नायक सपना’ – Nepal Press

सामरी पुलको ठिटो राजको ‘नायक सपना’

काठमाडौं । वर्षले गन्ती गर्ने हो भने अभिनेता राज कटवालले नेपाली सिनेनगरीसँग नाता गाँसेको डेढ दशक भइसकेको छ । यो डेढ दशकमा नेपाली सिनेमामा उनको सक्रियता र निरन्तरता भने पढाइकाबीच आउने लन्चब्रेक जस्तो मात्र भएको छ ।

१५ वर्ष अगाडि एउटा सिनेमा गरे। सिनेमा गरे लगत्तै व्यवसायी बन्ने र पैसा कमाउने धुनमा ४–५ वर्ष हराए । अनि फेरि एक–दुई सिनेमा काम गरे र फेरि ४–५ वर्ष फेरि व्यवसायमै रमाए । यसो फुर्सदका वखतमा एकाध म्यूजिक भिडियोमा नाचेर यो १५ वर्ष पु¥याए ।

यसबीच उनले नेपाली सिनेमाको सर्वोच्च निकाय चलचित्र विकास बोर्डमा बोर्ड सदस्यको जिम्मेवारी निर्वाह गरे ।

सिनेमामा राजले अरुले जस्तो हाडछाला घोटेर संघर्ष गरेका छैनन् । प्लस टु पछि उनी आफ्ना पिताको नेपाली सेनाको सेवापथलाई पछ्याउने चाहन्थे ।

छोराको यो सोचमा बाबु दंग थिए । हेटौंडा, सामरीपुलका राजको चाहना थियो नेपाली सेनाको सेकेण्ड लेफ्टिनेट बन्ने । यसका लागि उनको तयारी जोडतोडको नै थियो ।

उनलाई चिनजानकी तारा सिटौला जसलाई उनले दिदी भन्छन्, ‘सम्बन्ध’ नामक सिनेमा निर्माण गर्दै थिइन् । उनले राजलाई सिनेमा खेल्ने प्रस्ताव गरिन् । ठूलो पर्दाको हिरो हुने झिलमिली प्रस्ताव उनलाई मनपर्यो । उनले सिनेमा खेले । सो सिनेमामा उनले दीलिप रायमाझी तथा पूजना प्रधानसँग ‘स्क्रिन’ साझा गरे ।

सिनेमा खेल्ने भएपछि उनले सिनेमाका लागि चाहिने आवश्यक नाच, फाइट, अभिनय आदिको प्रशिक्षण समेत लिए । नेपाली सिनेमामा उनी छिर्दा राजेश हमाल, विराज भट्टहरुको बोलबाला थियो ।

‘सम्बन्ध’ सिनेमा गरेपछि उनलाई ‘खै ? खै ?’ जस्तो भयो । सिनेमासँग झ्याउ लाग्यो । जसका कारण सिनेमामा थप हाडछाला नघोट्ने निर्णयमा पुगे ।

उनलाई पैसा कमाउनुपर्छ भन्ने धुन सवार भयो र व्यवसायतीर हाम फाले ।

‘राजेश दाइ, विराज दाइहरुको जमाना थियो । नेपाली सिनेमामा बेस्करी पैसा कमाउन सम्भव थिएन । मलाई पनि पैसा कमाउनुपर्छ भन्ने धुन सवार भयो । त्यसका लागि त व्यवसाय गर्नुपर्थ्यो । म व्यवसायतीर लागें ।’ उनी भन्छन् ।

उनले साथीसँग मिलेर नयाँ बानेश्वर र दरबारमार्गमा एकसाथ रेष्टुरेन्ट खोले । रेष्टुरेन्ट व्यवसायले उनको पैसा कमाउने इच्छा पूरा गरिदियो । यसबीच उनले फुर्सद हुँदा केही म्यूजिक भिडियोमा काम गरेका थिए ।

निर्माता भानुप्रताप ढकालले ‘लाल्टिन’ नामक सिनेमा बनाउँदै रहेछन् ।

उनैले राजलाई सिनेमा खेल्न प्रस्ताव गरे ।

एक समय झ्याउ मानेर अभिनय छाडेका राज ‘इन्स्पेक्टर बम’ बनेर पर्दामा फिर्ता भए ।

दयाहाङ राई, प्रियंका कार्की जस्ता कलाकारको अभिनय रहेको फिल्मले उनलाई मेकरहरुको नोटिसमा पा¥यो । केही महिनापछि उनी ‘लिला’ सिनेमामा सोलो हिरो नै बने । तर यी दुबै सिनेमाले भनेजस्तो चर्चा र सफलता प्राप्त गर्न सकेनन् ।

यसबीच ‘बागमती’ सिनेमामा पनि उनी प्रहरीको छोटो भूमिकामा देखा परे ।

राज पुनः व्यवसायमै फर्किए ।

यसपटक उनले रेष्टुरेन्टसँगै सेयर व्यवसायमा पनि हात हाले । यो व्यवसाय पनि उनलाई फाप्यो । यसैबीच धेरैलाई आश्चर्यमा पार्दै विकास वोर्डको वोर्ड सदस्यमा मनोनित हुन पुगे ।

नेपाली सिनेनगरीको सर्वोच्च निकायमा महत्वपूर्ण जिम्मेवारीमा पुगेसँगै उनको नेपाली सिनेकर्मीसँगको संगत पुनः बढ्न थाल्यो ।

बोर्ड पुग्ने नेपाली निर्माता निर्देशकको राजसँगको भेटपछि एउटै प्रतिक्रिया हुन्थ्यो ।

‘तपाईंले सिनेमा खेल्नुपर्छ, नछोड्नुस् ।’

राजसँग सिनेमाको पर्दामा हिरो हुन चाहिने आकर्षक लुक्स र शरिर छ । यसका अलावा उनले मिक्स मार्सल आर्ट र नृत्यसमेत सिकेका छन् । यी विशेषताले राम्रो स्क्रिप्टका लागि राम्रो प्याकेजको हिरो वा अभिनेता हुने सम्भावनाले भरिएका छन् राज । मेकरहरुले यसै कारणले पनि सिनेमामा आउनपर्छ भनेर हौसाएका हुन् उनलाई ।

अभिनयका पछिल्ला अनुभव र नेपाली दर्शकको बदलिदो रुचि बुझेका राजलाई लरतरो सिनेमा गर्न मन थिएन । बिचमा प्रस्तावहरु नआएका होइनन् तर उनले सिनेमा गर्ने हतारो भन्दा पनि उचित सिनेमा पर्खनुमै बुद्धिमानी ठाने ।

‘यसबीचमा एउटा सिनेमा निर्माण गर्ने भन्ने घोषणा पनि भयो तर त्यसले बाटो लिन सकेन’, राजले भने, ‘राम्रो मेकरको सिनेमा भएकाले म उत्साहित पनि थिएँ, तर समय नआएकाले होला सिनेमा अगाडि बढ्न सकेन ।’

एक्सन सिनेमा भएकाले उनले सो सिनेमाका लागि आफूलाई फिट बनाउन उनी कठोर खानपान र व्यायामको अनुशासनमा राखेका थिए ।

सो सिनेमा नबने पनि उनको मेहेनत खेर गएन ।

निर्देशक दीवाकर भट्टराईले एकदिन राजलाई फोन गरे र सिनेमा खेल्ने प्रस्ताव गरे ।

दीवाकरले राजलाई ‘नरसिंहा अवतार’ खेल्ने प्रस्ताव गरेका हुन् । राजले स्क्रिप्ट पढेर सिनेमा गर्ने स्विकृति जनाए ।

यो सिनेमा राजको नजरमा आफूले खोजेजस्तो काम देखाउन पाउने सिनेमा हो ।

‘धेरै सिनेमाले तपाईंलाई बनिबनाउ चरित्रमा पेस गर्ने गर्छन् । यो सिनेमामा त्यो शैलीबाट फरक छ । दीवाकरजी सिनेमाका लागि हरसम्भवः मेहेनत गर्ने निर्देशक हुनुहुन्छ’, राजले भने, ‘उहाँको मेरो पात्रप्रतिको सोच र मेरो चरित्रको चित्रको बयानले म यो सिनेमा गर्न धेरै रोमाञ्चित भइरहेको छु ।’

यो सिनेमामा उनले पहिलो सिनेमा गर्दाका गर्हौं नाम राजेश हमालसँग स्क्रिन सेयर गर्दैछन् । सिनेमामा हमालका अलावा राजले सरोज खनालसहित नीति शाह, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाहीसँग स्क्रिन सेमयर गर्दैछन् ।

सिनेमाको यो लाइनअपलाई बलियो लाइनअप मानिएको छ । यसै कारणले गर्दा नेपाली सिनेनगरीमा यो सिनेमा ‘पैसा कमाउन सक्ने’ सिनेमाको सुचीमा चढिसकेको छ ।

राज सिनेमाप्रति आशावादी छन् ।

उनलाई लाग्छ यो सिनेमाले अभिनेताको एउटा पहिचान स्थापित हुनेछ ।

‘सुरुसुरुका सिनेमाहरु एउटा रहरको लहर जस्तोमा खेलियो । यसपटकचाहीँ मैले यसलाई पास गर्नैपर्ने परीक्षाजस्तो ठानेको छु’, राजले भने ।

झण्डै ३ करोडको ठूलो बजेटमा बन्न लागेको यो सिनेमा यही महिनाको अन्तिमबाट फ्लोरमा जाँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर