स्व. खेमराज गुरुङका अधुरा ७ सपना
आज नेपाली संगीतिक क्षेत्रका एक चम्किला नक्षत्र खेमराज गुरुङको स्मृति दिवस । अमर श्रष्टा गुरुङले हामीलाई छाडेर गएका अमृत कोसेलीहरू सुनेर, पढेर, हेरेर उहाँलाई सम्झने खास दिन । उनका लोकप्रिय तथा मर्मस्पर्शी गीतले विश्वका नेपाली भाषीमाझ नै सदावहार सम्झनामा आउँछन् उनी ।
वारि जमुना पारि जमुना, अष्टमीमा बोकालाई डोर्याउने, बेहाल भयो जिन्दगी यो, सिरैफूल सिरबन्दी जस्ता नेपाली सांगीतिक आकाशमा गुञ्जिरहने गीतका श्रष्टा खेमराज गुरुङ एक विशाल हृदय भएका कलाकारको रूपमा स्थापित छन् ।
एक नेपाली कलाकारले पाउनु पर्ने तत्कालीन समयका सम्पूर्ण पुरस्कार र सम्मानद्वारा विभूषित श्रष्टा गुरुङले करिब १५-२० देशको संगीतिक भ्रमण गरेका थिए । वाम राजनितीबाट प्रभावित गुरुङ आवाजविहीनहरूको आवाज बोक्ने एक जनकलाकार थिए । उनले ‘पाखुरी चलाउनेलाई कस्ले भन्छ कठै बरीलै’ जस्ता दर्जनौं जनवादी गीत जनताको नाममा नासो स्वरूप छाडेर गएका छन् ।
गोठदेखि विश्वका अनेकौं तारे होटलसम्म सांगीतिक कोसेली पस्किएका गायक खेमराज गुरुङ अस्थिर राजनीति र पतन हुँदै गएको सर्वहारा वर्गको मुक्तिको आन्दोलनमा बढो चिन्तित थिए । श्रमजिवी र सर्वहाराको पक्षमा खुलेर राजनीति गर्ने उनको चाहना भौतिक शरीर विलिनसँगै अपूरो रह्यो ।
यद्यपि धेरै युवा आज पनि उनको पदचाप पछ्याउँदै भेटिन्छन् । यो पंक्तिकार पुगेको प्राय हरेक ठाउँमा संखुवासभा र खेमराज गुरुङको चर्चा पर्यायको रूपमा हुने गरेको पाइएको छ ।
उनका केही सपनाहरुः
१) सिक्किम कल्चरल हाउस
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ४/५ हुँदै चिचिला गाउँपालिका सिमाना क्षेत्रमा सिक्किम र नेपाल जोड्ने एक साँस्कृतिक संस्था बन्नेछ भने नेपाल र सिक्किमको साँस्कृतिक आदानप्रदान हुनेछ । जहाँ वर्षेनी हजारौ नेपाल भाषी भरतीयहरू आउनेछन् भने नेपालीहरू सिक्किम जानेछन् । सम्पूर्ण भ्रमण आधिकारिक र अफिसियल हुनेछ । भ्रातृत्व र भगीनी सम्बन्ध स्थापित हुनेछ । भूगोलले छुट्याएको हामीलाई भावना, भाषा र संस्कृतिले जोड्नेछ ।
२) अर्गानिक जिल्ला संखुवासभा
संखुवासभा विषादीरहित जिल्ला हुनेछ । जिल्लाका हरेक ठाउँमा व्यवस्थित कृषि फार्महरू र हरेक घरमा व्यवस्थित करेसाबारी हुनेछ । संखुवासभामा आउनेले अर्गानिकमात्रै खान पाउनेछन् । अर्गानिक हब बनाइने छ । विभिन्न कृषि पाठशालाहरू बन्नेछ । देशभरबाट संखुवासभामा कृषि पर्यटक बनेर आउने छन् । किसानसँग कृषि एम्बुलेन्स हुनेछ, शीत भण्डार हुनेछ ।
३) जलयातायात र माछापालन
उच्च कोशी ड्याम बनेसँगै चताराबाट संखुवासभाको यातायात सहज र सुलभ हुनेछ भने सभाताल निर्माणसँगै पर्यटकीय र असला माछाको हब बन्नेछ त्यो क्षेत्र । खोलाहरू माछापालनको निम्ति ठेक्का लगाइनेछन् । माछा पालक र माछा मार्नेहरूलाई लाइसेन्स दिइनेछ । गिटी बालुवा ढुंगा होइन खोलाबाट माछा निस्किने छ ।
४) मनकामना धामको भौतिक विकास
पूर्वको पाथिभरा, हलेसीजस्तै मनकामनादेवीको बास रहेको मनकामनामा विश्वका ठूला धामहरू जस्तै बनाइनेछ । एकपटकमा हजारौं भक्तजनले दर्शन गर्न मिल्ने धाम निर्माण गरिनेछ भने एकादशी बजार हरेक नेपाली र नेपालभाषीले पुग्नै पर्ने बजारको रूपमा विकास गरिनेछ ।
५) तुम्लिङटार एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट
चाइना र इन्डियाको हवाई दूरी नजिक रहेको तुम्लिङटार एयरपोर्टलाई जेट प्लेन र कार्गो प्लेन चल्ने एयरपोर्ट बनाइनेछ ।
६) घरेलु उत्पादन र व्यापार
अब लसुन, प्याज, बन्दा र सागमात्रै होइन सुन्तला, अलैँची, चिया, राडी, लुकुनी, अल्लो, भाङ्ग्रालगायत घरबुना उत्पादन वार्षिक आउने लाखौं पर्यटकलाई बिक्री गरिने छ । संखुवासभा आउँदा लाउने र खाने स्थानीयमात्र हुनेछन् ।
७) गुराँसको राजधानी र चियाको सदरमुकाम
तीनजुरे मिल्के क्षेत्रमा व्यवस्थित पर्यटकीय हब बनाइनेछ साथै राज्यस्तरबाटै लगानी बढाइनेछ । हिमालमात्रै होइन विश्व बजारमा गुराँस देखाएर पर्यटक बोलाइने छ । छ्याङ्कुटी-नुम क्षेत्रसम्म चिया खेती गरिनेछ । राजधानी बनाउन नसके पनि चियाको सदरमुकाम बनाउन पहल गरिने छ ।
यसरी समग्र समृद्ध संखुवासभा निर्माणमा अमर श्रष्टा खेमराज गुरुङ कल्पनाशील रहेको मैले पाएको छु । यस स्मृति दिवसमा सम्झँदै उहाँका सपना पूरा गर्ने जिम्मेवारी कसको ? भनी ध्यानाकर्षण गराएँ । लौ न, गुरुङको मृतात्माको चीर शान्तिको निम्ति भए पनि प्रण गरौं ।