पाल्पामा राष्ट्रपतिलाई मुख्यमन्त्रीको स्वागत, रथजात्राको अवलोकन गरिँदै
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपति रामचन्द्र पौडेललाई पाल्पामा स्वागत गरेका छन् ।
पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मङ्गलवार यहाँ आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।
राष्ट्रपतिलाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । यस्तै जात्रामा सहभागी हुन आएका संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मान वीर राईलाई समेत स्वागत गरिएको छ ।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदा दिएको छ ।
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धूमधामका साथ विजयउत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।
विश्वको भू-भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिस साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजयउत्सव स्वरूप सो जात्रा निकालिँदै आएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ ।
कर्णेल उजिर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको छ ।