कर छलीको छानबिनमा रहेका विद्युतीय गाडीहरू निर्धक्क ‘नाडा अटो शो’ मा
काठमाडौं । सवारीसाधनहरूको प्रदर्शनी नाडा अटो शो आजबाट सुरू भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट उद्घाटन गराइएको यो शोमा करको विवादमा रहेका विद्युतीय गाडीहरू पनि सगर्व राखिएका छन् ।
पछिल्लो समय केही विद्युतीय गाडीले कर छलेर भित्र्याएको विषयमा अहिले अध्ययन/अनुसन्धान भइरहेको छ । विदेशबाट नेपालमा विद्युतीय गाडी आयात गर्दा थोरै किलोवाट क्षमता देखाएर कर छली गरेको आशंकामा भन्सार विभाग र राजस्व अनुन्धान विभागले छनबिन गर्न थालेका हुन् । १० अर्ब रूपैयाँभन्दा बढीका विद्युतीय गाडी आयात भएका बेला ठूलो कर छली भएको आशंका छ ।
भन्सार विभागले केही समय पहिले विद्युतीय गाडी पास हुने भन्सार नाकालाई विद्युतीय गाडी आयातकर्ताले कम किलोवाट देखाएर गाडी आयात गरेको भए तत्कालै राजस्व उठाउन निर्देशन दिएको थियो । विभागले दुईवटा अध्ययन समिति पनि बनाइसकेको छ ।
विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले नेपालमा १०० किलावाट भन्दामाथि क्षमता भएका गाडीको १ सयभन्दा कम क्षमता देखाएर आयात गरेका थिए । विश्वका अन्य देशमा १०० किलोवाटभन्दा धेरै क्षमता भएका र उही मोडलको गाडी नेपालमा भने १०० किलोवाटभन्दा थोरै क्षमता भनेर कर छलि गरिएको हो ।
पहिले १५० किलोवाट भनेर आयात भएको एउटा कम्पनीको विद्युतीय गाडी पछिल्लो समय १०० किलोवाटभन्दा कम क्षमताको देखाएर आयात भइरहेको भन्सार विभागका कर्मचारीहरू नै बताउँछन् । भन्सार विभागका अनुसार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्छ ।
नेपालमा कसरी परीक्षण गरिन्छ विद्युतीय गाडीको किलोवाट ?
सवारी परीक्षण कार्यालय टेकुका प्रमुख मणिराम भुसाल विद्युतीय गाडीको मोटर क्षमता नाप्ने दुईवटा विधि रहेको बताउँछन् । चेसिस डाइनामो मिटर र इन्जिन डाइनामो मिटरबाट विद्युतीय गाडीको क्षमता मापन गर्न सकिन्छ ।
सवारी परीक्षण कार्यालय टेकुसँग चेसिस डाइनामो मिटर मात्रै छ । चेसिस डाइनामो मिटरले गाडीको टायर घुमेको आधारमा मात्रै क्षमता मापन गर्छ ।
अहिले नेपालमा टायरबाट मात्रै गाडीको क्षमता चेक भइरहेको छ । यसरी टायरबाट मात्रै गाडीको क्षमता चेक गर्दा यथार्थ क्षमता नदेखाउने भुसाल बताउँछन् ।
विद्युतीय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) प्रणाली जडान गरिएको हुन्छ । यो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन पनि सक्छ । यसो गर्दा सजिलै क्षमता कम देखाउने बनाइन्छ । बीएमएसमा सेट गरेअनुसार नै गाडीको किलोवाट क्षमता देखिन्छ ।
इन्जिन डाइनामो मिटरले विद्युतीय गाडीको यथार्थ क्षमता चेक गर्न सकिन्छ । यो प्रविधिबाट क्षमता चेक गर्न ब्याट्री र मोटरलाई छुट्याउनुपर्छ । यो प्रविधि जडान गर्न करिब ६ करोड पर्ने बताइन्छ ।
अहिलेसम्म भन्सार कार्यालयले आयातकर्ताले स्वघोषणा गरेअनुसार नै गाडीको क्षमता तोक्दै आएको छ । गाडीको किलोवाट कम गरेर भन्सार जाँच पास गराउने ओमोडा, एमजी र डीपललगायतका ब्राण्डका गाडीहरूमाथि भन्सार विभागले पनि अध्ययन गरिरहेको छ ।
नाडा शोमा ओमोडा, एमजी र डीपल गाडीहरूले पनि भाग लिँदै छन् । यी कम्पनीका नयाँ गाडी पनि अटो शोमा नै सर्वाजनिक गर्ने तयारी रहेको छ । कर छली गरेको आरोप लागेका विद्युतीय गाडीहरू नाडा अटो शो राखिएको विषयमा नाडाका अध्यक्ष करण चौधरीसँग कुरा गर्न खोज्दा उनले बोल्न चाहेनन् ।