३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै बुधवारसम्म निवेदन दिने तयारी
काठमाडौं। नेपाल प्रहरीका कर्मचारीलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले बुधवारसम्म सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ५० बमोजिम सकेसम्म मंगलबार नै निवेदन दिने तयारी भइरहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए। ‘सकेसम्म आजै निवेदन दिन्छौँ नत्र भोलीसम्म चाहिँ हुन्छ’, दाहालले भने।
सर्वोच्च अदालतले भदौ ६ गते उक्त अन्तरिम आदेश जारी गरेको थियो। भदौ १६ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका ९० मध्ये २१ जना सिनियर अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि असोज १० गतेलाई पेशी तोकेको छ।
सर्वोच्च अदालत नियमावलीको नियम ५० मा एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएको वा आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको कारण खुलाई कुनै प्रत्यर्थीले अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न माग गरी निवेदन दिन सकिने उल्लेख छ।