प्रचण्डलाई रघुजीको जवाफ–विपक्षी दलको नेता तपाईलाई नचाहिए जनार्दन शर्मालाई दिनुस् (भिडिओ) – Nepal Press

प्रचण्डलाई रघुजीको जवाफ–विपक्षी दलको नेता तपाईलाई नचाहिए जनार्दन शर्मालाई दिनुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्ष दलको नेता उपमहासचिव जनार्दन शर्मालाई दिन नेकपा एमालेले सुझाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारको १०० दिन नपुग्दै प्रमुख प्रतिपक्ष दलको नेताले आलोचना गरेकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘आज दुःखका साथ भन्नुपर्छ, उहाँले यो नजिर तोड्नुभएको छ । उहाँले त्यतिमात्रै भन्नुभएन, लाञ्छित गरेर केसम्म भन्नुभयो भने सबै तपाईंहरुलाई चाहिएको छ भने यो प्रमुख प्रतिपक्षको पद पनि लैजानुस् भनेर । संविधान त पढ्नुस् नेताज्यू । प्रमुख प्रतिपक्षको पद तपाईंले दिएर, तपाईंले खोजेर पाउने पद होइन । हामीले खोजेर पाउने पद होइन । त्यो एउटा संवैधानिक पद हो । त्यो तपाईंलाई पनि दिएको होइन । तपाईंको दललाई दिएको हो । दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्रो ठूलो दल प्रमुख प्रतिपक्षमा स्वतः भएको हुनाले त्यो पार्टीलाई दिइएको हो । त्यो दललाई दिएको हो । मन लाग्दैन भने तपाईंकै छेउमा जनार्दनजी बस्नुभएको छ । दिनुस् न उहाँलाई । चाहिएन हामीलाई । किनभने हामीले लिन हुने पद पनि होइन । आफ्नै दलका कुनै नेतालाई दिनुस् ।’

प्रमुख प्रतिपक्ष दलको नेता हुने अनि यो पद पनि लैजाऊ भनेर भन्दै प्रचण्डले प्रधानमन्त्री पद गएकोमा छटपटी पोखेको सांसद पन्तले टिप्पणी गरे ।

उनले थपे, ‘चाहिँदैन सत्ता भन्नुहुन्छ । हिजो ३ चोटी घरी यता, घरी उता, जता सत्ता, त्यतै प्रचण्ड भनेर यो संसदभित्र स्थापित गर्ने मान्छे को हो ? तपाईं स्वयम् होइन ? तपाईंको कारणले मुलुकमा अस्थिरता उत्पन्न भएको थियो । तपाईंको कारणले राजनीतिज्ञहरुले आफ्नो विश्वसनीयता गुमाएका थिए । बाहिर भन्न थालेका थिए– नक्कले र नक्कली लुगा फेरेभन्दा छिटो प्रचण्डले दल फेर्दछन् । समीकरण फेर्दछन् भनेर । कसले गर्दा यो परिस्थिति उत्पन्न भयो ? के कारणले उत्पन्न भयो ? त्यसैले फर्केर हेर्नुस्, आज ठूला दल मिले । मलाई सत्ता चाहिँदैन भनेर सत्ता फकाउनुको के अर्थ छ र ? अब त कोही आउँदै आउँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर