शास्त्रीय सौन्दर्यमा लाखे जात्राको लेखाजोखा – Nepal Press

शास्त्रीय सौन्दर्यमा लाखे जात्राको लेखाजोखा

आज ‘लाखे मार्ने’ दिन । केटाकेटी उमेरमा हरेक वर्षको आजको दिन बिताउनै मुस्किल पर्थ्यो, रातमा लाखे मार्ने बेला कुर्दा ।

आज मध्यराति दोलखाको चरिकोटमा लाखेलाई कृष्णको चक्र प्रहार गर्दै मारेको जात्रा लाग्छ । म सानो छँदा त्यो जात्रा हेर्न हतारहतार साँझ घरबाट भाग्थे । आजको रातमा पनि मेरालगायत चरिकोटका धेरै छोराछोरीले भागेर जात्रामा सहभागी हुनेछन् । आजको रातको प्रतीक्षा भनेको कृष्णाष्टमी पर्वको भोलिपल्ट मध्यराति १२ बजेसम्म हुने माहोलका लागिमात्रै हो । आज मध्यरातसम्मको माहोलमा सहभागी हुन टुटेपानी बजारमा मानव सागर उर्लन्छ । त्यसैले आज राति जात्राको आयोजक र स्थानीय प्रशासनले चरिकोट बजारमा शान्ति कायम गर्न विशेष ध्यान दिन्छन् ।

विरूप अनुहार भएको मुखुण्डो लगाएको, झ्याप्ले कपाल भएको, दुवै हातमा कपडाका तान्द्राहरू बाँधेको, फरिया लगाएको घिनलाग्दो ढंगले झम्टँदै नाचिरहेको पात्रलाई लाखे ठानिन्छ । पुष्ट र कसिलो शरीर, हल्का गहुँगोरो, जिउ नढाकेर सुन्दर ढंगले मेकअप गरेर कामुक बनाइएको, कम्मरमुनि पहेंलो धोती बेरिएको, हातमा बाँसुरी र औंलामा चक्र लगाई नाच्दै गरेको पात्रलाई कृष्ण ठानिन्छ । यी दुई पात्रको युद्ध नै जात्राको प्रमुख रौनक हो । कामुक र भद्र, तर चतुर्‍याइँ गरेर लाखे मार्न उत्रिएका कृष्णको वरपर केही केटी नाचिरहेका हुन्छन् । कृष्ण चरित्रअनुसार नाचिरहेका केटीहरूलाई गोपिनीको संज्ञा दिइन्छ र दर्शकले त्यस्तै बुझ्छन् ।

आज मारिने लाखे प्रत्येक वर्षको घण्टाकर्णबाट प्रकट हुन्छ अर्थात बजारमा नचाइन्छ । चरिकोटमा आज मारिने लाखेप्रतिको मोह उधुम छ । सानो हुँदा जब बजारमा लाखे निकाल्छ, तब स्कुलबाट भागेरै हेर्न पुगिन्थ्यो । अहिले पनि खासगरी बच्चा र युवा पक्ङ्तिलाई लाखेप्रति गहिरो ‘क्रेज’ छ । लाखे देखाउने बेला सुनसान चरिकोटमा एकाएक गुल्जार हुन्छ । यो क्रेज अझ यस वर्ष बढ्यो । लाखे हेर्न गाईजात्राको दिन चरिकोटमा गत वर्षको भन्दा निकै बढी भीड कहाँबाट उर्लियो पत्तै पाइएन ।

घिनलाग्दो देखिने लाखेसँग सेल्फी खिच्न किन भीड लालायित हुन्छ ? किन मिचिँदै, ठेलिँदै लाखेनिर पुग्छ भीड ? ठूल्ठूला कार्यक्रममा अनेक प्रयासका बावजुद जम्मा भएका भीडभन्दा लाखेलाई स्पर्श गर्न किन तँछाडमछाड हुन्छ ?

खासमा कुनै सेलिब्रेटीको क्रेजलाई नै माथ खुवाउने गरी त्यस्तो कुरूप ज्यान भएको लाखेको अघिपछि किन लाग्छ भीड ? घिनलाग्दो देखिने लाखेसँग सेल्फी खिच्न किन भीड लालायित हुन्छ ? किन मिचिँदै, ठेलिँदै लाखेनिर पुग्छ भीड ? ठूल्ठूला कार्यक्रममा अनेक प्रयासका बावजुद जम्मा भएका भीडभन्दा लाखेलाई स्पर्श गर्न किन तँछाडमछाड हुन्छ ? यो प्रश्नको उत्तर चरिकोट आएर चरिकोटकै वासिन्दालाई सोधेमात्र थाहा हुन्छ । खासगरी यहाँ जवाफ दिइरहनु आवश्यक छैन । यहाँ मैले कृष्ण, लाखे, देशभरका विभिन्न भागमा हुने जात्रालाई अर्को पक्षबाट मनन गर्ने कोसिस गरें । वामपन्थी नेता तुलसीलाल आमात्यको हालै प्रकाशित पुस्तक र बुझाइको आधारमा केही लेख्न कोसिस गरें ।

नेपालमा विविध जात्रापर्व छन् । जात्रापर्वको जननी मानिने दोलखा बजारमा अनेक जात्रा चलिरहेका छन् । त्यसैका कतिपय सिको र आफ्नै मौलिकताले चरिकोट बजारमा चलिरहेको छ । चर्चा गर्न खोजिएको लाखे मार्ने जात्रा कृष्णलीलामा थोरै आधारित लाग्छ । अर्कोतर्फ रामले रावणको वध गरेको कथासँग पनि जात्रा मिल्दोजुल्दो लाग्छ । कथा र रोचकता हिन्दू दर्शनशास्त्रको चौतर्फी भेटिने कृष्णको वरपर घुम्छ । चार हजार वर्ष पहिले प्रतिपादित कृष्णको सिद्धान्त हाम्रो पुस्ताले अनेक रूपमा आज पनि बाहिर ल्याउँदैछ । कृष्णको सिद्धान्तलाई २५ सय वर्ष पहिले बुद्ध र दुई सय वर्ष पहिले कार्ल मार्क्सले अनुशरण गर्नुभयो ।

कृष्णले मान्छेलाई मान्छे नगन्ने, अन्याय गर्ने, दमन र शोषण गर्नेहरूलाई युद्धको नियम उलङ्घन गरेर भए पनि मार्नैपर्छ भन्नुभयो । त्यस्ता दुष्टलाई नास गरेन भने न्याय र सत्यको शासन आउँदैन भन्नुभयो । यस्तो सिद्धान्तलाई कृष्णले ‘धर्मयुद्ध’को सिद्धान्त बनाउनुभयो । बुद्धले मान्छे भएर मान्छेलाई दुःख दिनेहरूको प्रवृत्ति समाप्त भएपछि मात्र दुनियाँमा शान्ति आउँछ भन्नुभयो । त्यस्ता मनुवाहरूलाई मार्नु र पूर्ण नास पनि गर्नुपर्दैन, शान्तिको ज्ञानमार्फत उनीहरूको बाटो बदलेर दुष्ट मनमा मानवता जगाउन सकिन्छ भन्नुभयो । उहाँले ‘शान्ति बाटो’को सिद्धान्त बनाउनुभयो ।

कृष्णले मान्छेलाई मान्छे नगन्ने, अन्याय गर्ने, दमन र शोषण गर्नेहरूलाई युद्धको नियम उलङ्घन गरेर भए पनि मार्नैपर्छ भन्नुभयो । त्यस्ता दुष्टलाई नास गरेन भने न्याय र सत्यको शासन आउँदैन भन्नुभयो । यस्तो सिद्धान्तलाई कृष्णले ‘धर्मयुद्ध’को सिद्धान्त बनाउनुभयो ।

कार्ल मार्क्सले मान्छेलाई मान्छे नगन्नेहरूलाई अधिनमा ल्याउन सर्वहारा क्रान्तिको बाटो ठीक छ भन्नुभयो । गरिब, दुःखी र निमुखालाई मान्छे नै नगन्ने मान्छेहरूलाई अधिनमा ल्याउन ‘क्रान्ति’को सिद्धान्त बनाउनुभयो । तिनै अन्याय परेका गरिब, दुःखीहरूलाई क्रान्तिमा नेतृत्व गराएर मान्छेलाई मान्छे नगन्ने दुष्टहरूलाई अधिनमा ल्याउन सकिन्छ भन्नुभयो । दुष्टहरूलाई क्रान्तिकारीहरूले नियन्त्रण गरेर सत्यको र न्यायको शासन ल्याउन सकिन्छ भन्ने विश्वास बाँड्नुभयो ।

आखिर कृष्णले धर्म युग सुरू गरेर सबै मान्छे समान ढंगले बस्नसक्ने राज्यको परिकल्पना गर्नुभयो । हिन्दू दर्शन शास्त्रीय एउटा निष्कर्ष हो । बुद्धले राजगद्दी त्यागेर शान्तिमार्फत दुःखकष्ट नभएको मान्छेहरूमात्र बनाउन विलासी जीवन नै त्याग गर्नुभयो । कार्ल मार्क्सले मान्छेहरूमा समानता ल्याउन हरेक मान्छेमा हलचल ल्याइरहने अमर दर्शन ‘मार्क्सवाद’ दुनियाँलाई समर्पित गर्नुभयो । भनिन्छ, यो दर्शन प्रतिपादन गर्न आफूलाई समर्पित गर्दागर्दै सम्भ्रान्त वर्ग र सरकारको निशानामा परेर ११ जना मलामीका साथमा महाप्रस्थान गर्नुप¥यो । उनको साथमा कात्रो किन्ने पैसासमेत थिएन ।

आजका मान्छेहरूका बीचमा तीनै जना महापुरूषका दर्शन उत्तिकै चर्चित छन् । तिनै दर्शनको माध्यमबाट मान्छेमाथि न्याय र समानता ल्याउन करोडौं अनुयायी आआफ्ना तरिकाले समर्पित छन् । जसलाई कृष्णले ‘धर्मात्मा’हरू भन्नुभयो । बुद्धले ‘भिक्षु’हरू भन्नुभयो । माक्र्सले ‘कान्तिकारी’हरू भन्नुभयो ।

आजका मान्छेहरूका बीचमा तीनै जना महापुरूषका दर्शन उत्तिकै चर्चित छन् । तिनै दर्शनको माध्यमबाट मान्छेमाथि न्याय र समानता ल्याउन करोडौं अनुयायी आआफ्ना तरिकाले समर्पित छन् । जसलाई कृष्णले ‘धर्मात्मा’हरू भन्नुभयो । बुद्धले ‘भिक्षु’हरू भन्नुभयो । माक्र्सले ‘कान्तिकारी’हरू भन्नुभयो ।

सन्दर्भ आज मान्छेलाई मान्छे नगन्ने दुष्ट लाखेलाई सांकेतिक रूपमा समाप्त पार्ने, अर्थात देशभरका ‘लाखे मार्ने’ दिन हो । कृष्ण, बुद्ध र मार्क्सको ‘सपनाको पृथ्वी’ आजको दिनसम्म निर्माण हुन नसकेकै कारण वर्षैपिच्छे सांकेतिक ‘लाखे’ मारेको महत्त्व छ, जसलाई लाखे मार्ने जात्रा भनिन्छ । कृष्ण र लाखेको भयङ्कर भीडन्त गराइएको जात्रा देशभर जहाँ जहाँ लाखे निस्कन्छ, ती ठाउँहरूमा हुन्छ । चर्चित जात्रा लाखे मरिनुपर्ने दिनहरू अर्को वर्षहरूमा पनि आइरहनेछन् । यो जात्राको अन्त्य हुनु त कृष्णको जस्तो धर्म युग, बुद्धको जस्तो ज्ञानी युग र मार्क्सको जस्तो समाजवादी युगको प्रारम्भ हुनुपर्ला । जसलाई ‘राम राज्य’ पनि भन्ने गरिन्छ ।

यो जात्राको आयोजना गर्ने दोलखा बजार र चरिकोटलगायत देशभरका संस्कारी समूहहरूलाई हार्दिक नमन गर्दछु । लाखे जात्राको प्रारम्भ गर्ने महान पुस्ताहरूलाई स्मरण गर्दछु । यसलाई निरन्तर र झन रोचक बनाउने युवा पुस्ताप्रति अभिवादन गर्दछु । कृष्ण, बुद्ध, मार्क्सको मान्छेमाथि विभेद गर्ने, अन्याय, अत्याचारी दुष्टहरूको अन्त्य गर्ने सिद्धान्तको सन्देश दिइरहेकोले जात्रा निरन्तर हुन आवश्यक छ । यो जिम्मेवारी आफ्नो थातथलोमा सम्भावना बोक्ने युवा पुस्ताको काँधमा बढी छ । आफ्नो संस्कार, संस्कृतिलाई आफ्नै ठाउँमा धानेर बस्ने युवालाई सरकारले पनि आवश्यक सहयोग र हौसला बढाउन अत्यावश्यक छ ।

समाजमा जबसम्म न्याय र समानता पूर्णतः स्थापित हुँदैन, तबसम्म कृष्ण, बुद्ध र मार्क्स जन्मिरहनु पर्छ, लाखेहरू मारिरहनु पर्छ । कृष्णाष्टमीको ठीक भोलिपल्ट रातको १२ बजे लाखे मरेर न्याय, समानता र शान्ति स्थापना भएको कम्तीमा पनि जात्रेहरूले अनुभूति गरिरहनु पर्छ । मानव समुदायलाई जहिलै कष्ट दिने दुष्ट लाखे मारेको देखियो भन्दै अब ‘राम राज्य’ आउला भनेर कम्तीमा पनि भोलि नउठ्दासम्म सपनामा रमाइरहनु पर्छ ।

(लेखक नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *