सिद्धबाबा सुरुङ मार्ग तीन महिनाभित्रै ब्रेक थ्रु गर्ने तयारी, दलबलसहित मुख्यमन्त्री आचार्य निरीक्षणमा
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधीन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रगतिबारे जानकारीसमेत लिएका छन् ।
सिद्धबाबा प्रदेशकै पहिलो सुरुङ मार्ग रहेको बताउँदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण गरे । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रवरेद्धनमा समेत यो मार्गले टेवा पुग्ने उनले बताए ।
मुख्यमन्त्रीसँगै रहेको सभामुख तुलाराम घर्तीमगरले मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताए ।
अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा खन्ने काम भइरहेको छ । अबको दुईतीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १२६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिनेछ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।
सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत छेउमा निस्कन मिल्नेगरी निर्माण गरिएको छ । सुरुङको बीचबीचमा आपतकालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्ने इञ्जिनियर ज्ञवालीले बताइन् ।
क्रस प्यासेजहरूको दूरी ४४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५६७ मिटर छ । यो खण्ड भएर साना-ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्नेछन् ।
पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा उक्त ठेक्का लिएको हो ।