राप्रपाले पहिलोपटक बोलायो केन्द्रीय सल्लाहकार समितिको बैठक
काठमाडौं । राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक यही भदौ १४ गते काठमाडौंमा बस्ने भएको छ । बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस.आर. बैंक्वेटमा शुक्रबार बिहान ९ः३० बजे बैठकको उद्घाटन गर्नेछन् ।
पार्टीको ३४ वर्षे इतिहासमा पहिलोपटक सल्लाहकारहरुको यस्तो बैठक गर्न लागिएको हो । सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता, पूर्वमन्त्री निरन्जन थापा छन् ।
सो बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरु पनि सहभागी हुनेछन् ।
संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्नेछन् । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरुले छलफलमा भाग लिनेछन् । यसैगरी बैठकमा अन्य विविध विषयहरुमा समेत विमर्श हुने राप्रपाले जनाएको छ ।