कर्जाको ब्याज ३२ महिनायताकै सस्तो
काठमाडौं । बैंकिङ प्रणालीमा कुनै समय ऋणको ब्याज अचाक्ली महँगो हुँदा आम सर्वसाधारण देखि उद्योगी व्यवसायीसम्म मारमा परेका थिए ।
व्यवसाय निरन्तरताका लागि कर्जा लिएर तिर्न नसक्ने अवस्था समेत सृजना भएको भन्दै विभिन्न फोरममा ब्याजदर उच्च भएको विषय बहसको विषय बन्ने गरेको थियो ।
विशेष गरी ब्याजदर सधैँ स्थिर रहँदैन तलमाथि भइरहन्छ भन्ने जानकारी भएकाहरूले पनि ब्याजदरको विषयलाई लिएर विभिन्न खालका आरोप बैङ्कहरूलाई लगाए । अहिले परिस्थिति केही फरक छ ।
अहिले बैङ्किङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ भने यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिना यताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ ।
अर्थात् वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो भएको छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ ।
२०७९ पुसमा आधार दर सबैभन्दा महँगो १०.८५ प्रतिशत थियो । त्यसयता हालसम्म आइपुग्दा आधार दर २.८५ प्रतिशतले घटेर ८ प्रतिशतमा झरेको देखिन्छ । कर्जा सस्तो हुँदा सेयर बजारमा प्रवाह हुने कर्जा बढेको छ ।
एक वर्षमा यो क्षेत्रमा ९० अर्ब बढी कर्जा प्रवाह भएको छ । घरजग्गामा प्रवाह हुने कर्जा पनि बढेको छ । २ खर्ब ६८ अर्ब १५ करोड बराबरको रियल स्टेट कर्जा प्रवाह भएको छ ।
आधार दर कम भएसँगै कर्जाको ब्याजदर त कम भयो तर कर्जा प्रवाह भएन । बैंकहरुले आफूसँग भएको निक्षेप सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा राखिरहेका छन् । समग्रमा नीजि क्षेत्रमा प्रवाह हुने कर्जा ५.८ प्रतिशतले बढेको छ ।