८४ वर्षीय भिक्षुमाथि सांघातिक आक्रमण, दोषीलाई तत्काल कारबाही गर्न शाक्यको माग – Nepal Press

८४ वर्षीय भिक्षुमाथि सांघातिक आक्रमण, दोषीलाई तत्काल कारबाही गर्न शाक्यको माग

काठमाडौं। राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको सांघातिक आक्रमणको भत्र्सना गरेकी छन् । आजको राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो भत्र्सना गरेकी हुन् ।

‘बुद्धजन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि यहि २०८१ भदौ ६ गते विहिवार भिमसेन टोल, धुलिखेल स्थित पूर्वाराम विहारमा राति सांघातिक आक्रमण भएको घटनाले सम्पूर्ण बौद्ध जगत लगायत मलाई पनि दुखित एवं स्तब्ध बनाएको छ । म उक्त घटनाको घोर भत्सर्ना गर्दछु,’ उनले भनिन् ‘नेपालको बुद्ध शासनिक क्षेत्रमा अत्यन्त सक्रिय र अन्तराष्ट्रिय रुपमा सम्मानित बौद्ध जगतमा प्रख्यात, वयोबृद्ध श्रद्धेय भिक्षु गुणघोष महास्थविरमाथि मरणासन्न हुने गरी सांघातिक आक्रमण गरिएको छ भने सुनियोजित रुपमा विहारमा लुटपाट गरिएको छ ।’

उनले उक्त घटना बौद्ध धर्माबलम्बीहरु माथि गरिएको कुकर्मको एउटा अत्यन्त क्रुर रुप भएको पनि स्मरण गराइन् ।

‘यसैले यस्तो कुकर्म गर्ने क्रुर अपराधीलाई तत्कालै पक्राउ गरी हदैसम्मको सजाय दिन नेपाल सरकारका सम्बद्ध मन्त्रालय एवं सुरक्षा निकायसँग जोडदार माग गर्दछु,’ उनले भनिन्, ‘यस प्रकारका अपराधिक घटना भविष्यमा पुनः हुन नदिन तथा श्रद्धेय भिक्षुगणहरुको जिउ–धनको सुरक्षाको यथोचित उपाय समेत अवलम्बन गर्न गराउन तथा बौद्ध विहारहरुको सुरक्षा गर्न समेत नेपाल सरकारसँग जोडदार माग गर्दै गम्भीर घाइते हुनु भएका संघ उपनायक श्रद्धेय भिक्षु गुणघोष महास्थविरको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’

ललितपुर निवासी भिक्षु गुणघोष महास्थविर करीब ४५ वर्षदेखि सोही विहारमा बस्दै आएका थिए । धर्मोदय सभाका महासचिव सागरमान बज्र्राचार्यले पनि संघ उपनायकमाथि भएको आक्रमणको भत्र्सना गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

त्यसैगरी यो आक्रमण महास्थविरमाथिको मात्रै आक्रमण नभई बौद्धर्धममाथिको आक्रमण भएको भन्दै आफूहरुले बुद्ध जन्मिएको देशमा अशान्ति फैलाउन नहुने भन्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको उल्लेख गरिन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनमाथि आक्रमण गर्ने २० वर्षीय आदित्य श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको छ । संघ उपनायक महास्थविर धुलिखेल अस्पतालमा उपचारपछि आज डिस्चार्ज भएका छन् ।

विहारबाट करीब १ लाख ६५ हजार नगद चोरी भएको थियो । प्रहरीले आदित्य सहित चोरी भएको पैसा समेत बरामद भएको जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई चोरी तथा डाँका अभियोगमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर