चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि पूर्णरुपमा रोक्न गृहमन्त्री लेखकको निर्देशन – Nepal Press

चाडपर्वमा कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि पूर्णरुपमा रोक्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले निर्देशन दिँदै भने, ‘कृत्रिम अभाव, कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनुसक्छौं । चाडपर्वको बेलामा दैनिक उपभोग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो ।’ यसपालिको चाडपर्वमा ३–४ कुरामा परिणाम देखिने गरी काम गर्न उनको निर्देशन थियो ।

उनले भने, ‘कृत्रिम अभाव कुनै हालतमा पनि हुन भएन । कृत्रिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हेर्नुपर्‍यो । त्यसमा गृह मन्त्रालयले पूरा–पुर सहयोग गर्छ ।’

दसैं तिहारका बेला एकै रातमा हुने मूल्यवृद्धिलाई सुक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । उनले भने, ‘मूल्यवृद्धिको उचित कारण हुनुपर्‍यो नि ? उही सामान एक दिनअघि एउटा मूल्य छ, अर्को दिन अर्को मूल्य हुन्छ । यो कुरालाई सबैले गम्भीरताका साथ लिएर परिणाम आउने गरी काम गर्नुपर्‍यो ।’

उनले थप्दै भने, ‘गुणस्तरहीन खाद्यवस्तुको बिक्री चाडबाडमै बिक्री गरिन्छ । गुणस्तरहीन वस्तु उपभोगक्ता कहाँ पुग्ने यही बेला हो । यसलाई कडाईका साथ हेर्न जरुरी छ ।’ सरोकारावाला पक्षमा समन्वय हुँला परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मुल्यांकन हुने गृहमन्त्री लेखकले बताए ।

उनले भने, ‘गृह मन्त्रालय एकतिर, बाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गणस्तर नापजाँच एकातिर भयो भने राम्रो हुँदैन । एकीकृत रुपमा काम गर्नुपर्‍यो । उनले भने, ‘अहिले छलफल भएका विषयमा कसलाई कहाँनिर सहयोग चाहिन्छ । तमतयार भएर सहयोग दिनुहोस् । परिणाम आउनु गरी काम गर्नुहोस् । चाडपर्व पछि आजको छलफलमा भएका कुराको मुल्यांकनका लागि हामी फेरि बैठक बस्छौं ।’

छलफलमा गृहसचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए ।उनले बाणिज्य विभागले सबै सहायक प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपटक दसैंमा सुपथ पसल बढाइने भन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने उनको भनाइ थियो ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुको आपूर्तिबारे जानकारी गराएका थिए । यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मुल्य निर्धारणको हक राख्नुपर्नेमा सरोकारवालाको जोड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर