सुदूरपश्चिममा माओवादी परामर्श बैठकः सहभागीले घोचेर बोले, पदाधिकारीले सोचेर – Nepal Press

सुदूरपश्चिममा माओवादी परामर्श बैठकः सहभागीले घोचेर बोले, पदाधिकारीले सोचेर

प्रचण्डलाई राजकुमार राजकुमारीदेखि छोरी बुहारीसम्मको प्रश्न

कैलाली । दुई दिनसम्म कैलालीको धनगढीमा चलेको माओवादी केन्द्रको सुदूरपश्चिम परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा पहिलो दिन ३२ जना र दोस्रो दिन ३१ जना सहभागीहरूले धारणा राखेका छन् ।

बैठकका बोल्ने अधिकांशले नीति र नेतृत्व वर्तमान अध्यक्ष पुष्पकमल दाहालकै हुनुपर्ने बताएका थिए भने केही सहभागीहरूले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक रहेको टिप्पणी गरेका थिए । माओवादी कमजोर हुँदै जानुमा वर्तमान नेतृत्वको भूमिका प्रधान रहेको सम्मका विषय पनि दोस्रो दिनको बैठकमा उठेको छ ।

साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जनार्दन शर्माले १४ बुँदे फरक प्रस्ताव राखेका थिए । दुबै दिनको बैठकमा उक्त प्रस्तावकै पेरीफेरिमा रहेर नेतृत्वबाट कमजोरी हुँदा पार्टी कमजोर भएको विषयले पनि स्थान पाएको छ ।

आज विरमान चौधरी, भगत बडूवाल, हरि ज्ञवाली , हेमराज भट्टराई, मीनबहादुर कुवर र देवराज रेग्मीले नेतृत्वको कमजोरी र लापरबाहीबारे तिखो प्रश्न गरे ।

‘यसरी पार्टी बन्दैन । यो तरिकाले पार्टी बन्दैन । माथिल्लो तहमा भएको कमजोरीको पनि छलफल हुनुपर्छ’ विरमान चौधरीले भने । भगत बडूवालले अध्यक्ष प्रचण्डलाई ‘माओवादी जनताको पार्टी हो कि छोरी बुहारीको पार्टी ?’, भन्दै पेचिलो प्रश्न गरेका थिए ।

हरि ज्ञवाली अखण्डले पनि बैठकमा नेतृत्वको कडा आलोचना गरे ।उनले पार्टीमा राजकुमार राजकुमारीसम्मको प्रवृत्ति हाबी हुन थालेको बताए ।

‘राजकुमार राजकुमारी प्रवृत्ति हाबी भयो । यो खानदानी पार्टी हो ? उच्च घरानियाँको पार्टी हो ? कि जनताको, श्रमजीवीको पार्टी हो ?’उनले नेतृत्वलाई प्रश्न गरे ।

उनले नेतृत्वसँग सही गलत छुट्टाउन सक्ने तेस्रो आँखा समेत हुनुपर्ने बताएका थिए । उनले पार्टीमा न्याय हराउँदै गएको आभास हुन थालेको समेत टिप्पणी गरे । केही समय अघि आफूसहित आधा दर्जन नेताहरूले राखेको लिखित मतको विषयमा अझै सुनुवाइ नभएको उनको भनाइ थियो ।

आधा दर्जन बढि नेताहरूले नेतृत्वको आलोचना गर्दै कडा रुपमा धारणा राख्दा नेतृत्वको रक्षाका विषयमा पनि सहभागीहरूले आफ्नो धारणा राखेका थिए । लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, विना मगर, रेणु चन्द,ओमप्रकाश पुन, शरदसिंह भण्डारीले नेतृत्व रक्षाका विषयमा धारणा राखे ।

लक्षिराम आचार्यले बहस र छलफल आवश्यक रहेको बताएका थिए । ‘गुटबन्दी हुनुहुँदैन, मोर्चा बन्दी गरिनुहुँदैन तर, बहस र छलफल आवश्यक छ’ उनले सुझाव दिए ।

ओमविक्रम भाट सरलले अध्यक्षलाई प्रश्न गर्नेहरूले पहिले आफूलाई प्रश्न गर्न आवश्यक रहेको टिप्पणी गरेका थिए । ‘अध्यक्षलाई कमजोर बनाउने गरि प्रश्न गर्नेले पहिले आफूलाई हेर्नुहोस् १८्२० वर्षदेखि पार्टीको इन्चार्ज बनेर पार्टी कहाँ पुराउनु भयो ’? उनले सहभागीहरूलाई नै प्रश्न गरे ।

झपट साउदले पनि पार्टी नेतृत्व परिवर्तन गर्ने विषयमा छलफल गर्ने बेला नआएको बताए ।

पदाधिकारीले जवाफ दिए

दुई दिन सम्म सहभागीहरूको धारणा सुनेपछि पार्टी पदाधिकारीहरूले सबै प्रश्नको जवाफ दिएका थिए । उपमहासचिव जनार्दन शर्माले आफूले राखेको विषयमा प्रस्ट पारेका थिए । उनले आफूले पार्टी बलियो बनाउन मत राखेको जिकिर गरे ।

उनले आफू पार्टी बलियो बनाउने गरि लाग्दा पनि पार्टी फुटाउन लागेको, एमाले प्रवेश गर्न लागेको जस्ता आरोप लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

अर्का उपमहासचिव वर्षमान पुनले आर्थिक विषयवस्तुमा बढी जोड दिएका थिए । उनले आफू अर्थमन्त्री हुँदा देशले लय समात्दै गरेको अहिले आर्थिक अवस्था बिग्रँदै गरेको बताए ।

महासचिव देव गुरुङले विधि भन्दा विचार प्रधान हुने कुरा बताएका थिए । उनले नीति र नेतृत्व फरक फरक हुन सक्ने कुरा सोच्न नसकिने बताए ।

बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्र राष्ट्रियताको विषयमा बलियो हुन आवश्यक रहेको टिप्पणी गरे । अहिले पार्टीविरुद्धका गतिविधि भइरहेको भन्दै सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । माओवादी परिवर्तनको एजेन्डा बोकेको शक्ति रहेको भन्दै उनले अब समाजवादी क्रान्तिको बाटो समात्नु पर्ने बताए ।

सहभागी तथा पदाधिकारीहरूको कुरा सुनेपछि अन्तिममा अध्यक्ष प्रचण्डले निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले सुदूरपश्चिम प्रदेशमा खुलेर छलफल भएको प्रतिक्रिया दिए । उनले पार्टी विभाजनको कुरा हल्ला मात्रै भएको नेता कार्यकर्ताहरूलाई जानकारी दिए । अध्यक्ष प्रचण्डले महासचिव शर्माको धारणालाई फरक ढंगले बुझ्न नहुने बताएका थिए ।

‘उहाँले आफ्नो विचार राख्नु भएको हो ’ उनले भने, ‘अरूले मौखिक राख्नुभएको हो उहाँले लिखित राख्नु भएको हो । कुरा यत्ति हो । बाहिर बढि आयो ।’

आफूले सरकारको नेतृत्व छाडेपछि जनतामा थप निराशा पलाएको प्रचण्डको भनाइ थियो । आफूले भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेपछि सरकारबाट बाहिरिनु परेको उनले नेता कार्याकर्ताहरुलाई बताएका थिए ।

उनले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्टलाई नै कायम गर्न निर्देशन दिए । आफूले दुई महिना पहिल्यै गरेको निर्देशन अझै कार्यान्वयन नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल उक्त निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

दुई दिनसम्म चलेको बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी थिए । बैठकमा भाग लिन प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा लगायत पदाधिकारी धनगढी पुगेका थिए ।

बुधबार धनगढी पुगेका अध्यक्षसहितका पदाधिकारीहरू बैठक सकेर बिहीबार नै काठमाडौँ फर्किए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर