माओवादी युद्धकालकै बम छुटेकाे अनुमान, हथौडाले फुटाउन खाेज्दा दाजुबहिनीकाे गयाे ज्यान – Nepal Press

माओवादी युद्धकालकै बम छुटेकाे अनुमान, हथौडाले फुटाउन खाेज्दा दाजुबहिनीकाे गयाे ज्यान

सकेट बम पड्किएको घरका धनी आइतराज माओवादीका कार्यकर्ता

विराटनगर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए ।

विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ ।

पवनकै घरमा उनीहरूका साथी दिप्सन राई पनि भेला भए । पवनका बुबा ज्ञानबहादुर राई ज्याला मजदुरी गर्छन् । उनी काम गर्न पाँचथरको सदरमुकाम फिदिम झरेका छन् । बिहीबार केटाकेटी घरमा भेला भएपछि पवनकी आमा बारीमा काम गर्न गइन् ।

खेल्ने क्रममा उनीहरूले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए । फलेलुंग गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भरत कुमार खपांंगीले भने, ‘बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोराछोरीकै मृत्यु भयो । पवन र दिप्सन राई घाइते भएका छन् ।’

विस्फोटमा परि घाइते भएका पवन राईले खपांगीलाई बताए अनुसार अनौठो वस्तु फेला पारेपछि उनीहरूले त्यसलाई फुटाउन खोजे । ढुङ्गाले हान्दा पनि नफुटेपछि उनीहरूले हतौडाले हाने । हतौडा दिप्सनले हानेका थिए । उनको छेउमै थिइन उनकी बहिनी ।

वडाध्यक्ष खपांगीले हतौडाले अनौठो बस्तुमा हान्ने दिप्सन र उनकी बहिनी प्रिन्साको मृत्यु भएको छ । पवन र दिप्सन घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँ स्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार आएका छन् ।

व्यापारका लागि आइतराज फिदिम आएपछि खाली भएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुंगले बताए ।

द्वन्द्वकै बेलाको हतियार

पाँचथरको फालेलुंगमा विस्फोट भएको बम द्वन्द्वकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । विस्फोटक भएको बम घरमै बनाइएको हो । यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले भने, ‘हेर्दा पुरानो छ । खिया लागेको छ । यो पुरानो हतियार हो ।’

उनले सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार भएको बताए । उनले द्वन्द्वका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए ।

अहिले सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको प्राविधिक टोली पुगेको छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्वन्द्वकालकै विस्फोटक भएको बताए । उनले भने, ‘अहिले सम्म यो नयाँ हो भन्ने पुष्टि भएको छैन ।’


प्रतिक्रिया

3 thoughts on “माओवादी युद्धकालकै बम छुटेकाे अनुमान, हथौडाले फुटाउन खाेज्दा दाजुबहिनीकाे गयाे ज्यान

  1. प्रचण्डलाई जिम्मेवार बनाएर कारवाही गर ।

  2. यो हत्याहिंसा को एउटा पक्ष हो जोजसको कारणले भए पनि बाटोघाटो मा यसरी गिर्नेट भेटिनुमा सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्छ

  3. ०५२ देखिको माओवादीको कार्य हिंसात्मक नै थियो। अहिले मूलधारमा भएको भनिएपनि उनिहरुको रवैया हिंसाग्रस्त नै थियो। त्यसैको बाछिटाहरु देशले निर्दोषहरुको ज्यान लिने गरि पटक पटक देखिएका छन्। यो घटनामा माधव सापकोटा, देवेन्द्र पौडेलहरुको बिचार के होला? जनता जान्न चाहन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *