साउनमै सरकारले उठायो ४३ अर्ब ५९ करोड ऋण, सरकारको ऋण पौने २५ खर्ब
काठमाडौ । सरकारले चालु आर्थिक वर्षको साउनमा ४३ अर्ब ५९करोड रुपैयाँ ऋण लिएको छ । सरकारले लिएको यो ऋणसँगै हालसम्म सार्वजनिक ऋण बढेर २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्ष ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण लिने लक्ष्य राखिएकोमा साउन मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ ।
यसमा ४० अर्ब आन्तरिक ऋण हो भने ३ अर्ब ५९ करोड रुपैयाँ बाह्य ऋण हो । सरकारले चालु आर्थिक वर्ष आन्तरिक ऋण ३ अर्ब ३० अर्ब र बाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ उठाउँने लक्ष्य लिएको थियो ।
यो लक्ष्य अनुसार आन्तरिक ऋण साउनमा १२.१२ प्रतिशत उठेको छ भने बाह्य ऋण १.६६ प्रतिशत उठेको छ । यस्तै सरकारले साउनमा २० अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज तिरेको छ भने बाह्य ऋणको साँवा ब्याज २ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३४ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.१० तथा बाह्य ऋण २२.२४ प्रतिशत कायम भएको छ ।
यो सँगै आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ६८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।