फिफा र एएफसीले पठाउने बजेटमा एन्फा पदाधिकारीको रजाइँ, महासचिवलाई तलब डलरमा – Nepal Press

फिफा र एएफसीले पठाउने बजेटमा एन्फा पदाधिकारीको रजाइँ, महासचिवलाई तलब डलरमा

पदाधिकारीको तलब मासिक ६५ हजारदेखि २ लाख ६८ हजार रुपैयाँसम्म, खेलाडीको ३० हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईको मासिक तलब १०० प्रतिशतभन्दा बढीले बढाएर दुई हजार अमेरिकी डलर पुर्‍याएको छ । यससँगै उनको मासिक तलब अब २ लाख ६८ हजार रुपैयाँ पुगेको छ, पछिल्लो डलर सटही दरअनुसार । एन्फा महासचिवले यसअघि एक लाख २० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका थिए ।

एन्फा कार्यसमितिले नियुक्त र मनोनीत ८ पदाधिकारीले मासिक तलब पाउँछन् । एन्फामा महासचिव, कोषाध्यक्ष र सीईओ नियुक्त गरिन्छन् भने तीन सहमहासचिव र सह-कोषाध्यक्ष मनोनीत गरिन्छ । यसरी नियुक्त तथा मनोनीत गरिएकाहरुसँग भोटिङ राइट्स भने हुँदैन ।

तीन जना सहमहासचिवले जनही मासिक ७५ हजार रुपैयाँ तलब पाउँछन् । तीन सहमहासचिवहरु दामोदरबद्री भट्टराई, विजय घले र अरुणमान जोशी हुन् । यस्तै कोषाध्यक्ष रवीन्द्र जोशीले ८५ हजार पाउँछन् । सह-कोषाध्यक्ष प्रवीणकुमार यादवले पनि मासिक ७५ हजार रुपैयाँ पाउँछन् ।

एन्फाका कार्यकारी प्रमुख (सीईओ) इन्द्रमान तुलाधरले एक लाख रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन् । यस्तै प्रवक्ता रहेका सुरेश शाहलाई मासिक ६५ हजार रुपैयाँ दिइने गरिएको छ । २१ सदस्यीय निर्वाचित एन्फा कार्यसमितिका पदाधिकारीलाई भने यसरी तलब दिइँदैन ।

कर्मा छिरिङ शेर्पाले नेतृत्व गरेको अघिल्लो एन्फा कार्य समितिमा सीईओ थिएनन् । कोषाध्यक्षको तलब ४२ हजारबाट बढाएर ८५ हजार पुर्‍याइएको थियो । सहायक महासचिवलाई जनही ५० हजार रुपैयाँ दिइएपछि कोषाध्यक्षको तलब करिब दोब्बर बढाइएको थियो । महासचिवको तलब पनि त्यतिबेला एक लाख २० हजार रुपैयाँ पुर्‍याइएको थियो । पंकज नेम्वाङले एन्फाको नेतृत्व सम्हालेपछि सहमहासचिवहरुको तलब २५ हजार रुपैयाँले वृद्धि गरिएको थियो ।

एन्फा प्रवक्ता सुरेश शाह विधानले महासचिव र कोषाध्यक्षलाई नियुक्त गर्ने र पारिश्रमिक दिन सकिने पदका रुपमा व्यवस्था गरेको बताए । ‘अब उहाँहरुको तलब कति राख्ने, कति जना सहमहासचिव र सह-कोषाध्यक्ष राख्ने भन्ने कुरा चाहिँ कार्यसमितिले गर्ने निर्णयको विषय हो’, उनले भने ।

तलब दिइने यस्ता पदहरुमा एन्फा नेतृत्वले आफू निकटलाई व्यवस्थापन गर्ने गरेको देखिन्छ । महासचिव राई पंकजलाई एन्फा अध्यक्षमा जिताउन लागेका व्यक्ति हुन् । एन्फाको अघिल्लो कार्यकालमा राई पंकजको गुटमा थिए ।

उदयपुर जिल्ला फुटबल संघबाट एन्फामा छिरेका राई गणेश थापाको पालादेखि नै केन्द्रमा छन् । उनलाई एन्फाका चतुर राजनीतिक खेलाडी मानिन्छ । उनी आफ्नो समयका चलेका खेलाडी पनि होइनन् । कोषाध्यक्ष नियुक्त भएका जोशी पुल्चोक क्लबका अध्यक्ष हुन् । उनी अघिल्लो कार्यकालमा पनि कोषाध्यक्ष थिए ।

गणेश थापाको पालामा सह-कोषाध्यक्ष रहेका जोशीले पंकजलाई एन्फा अध्यक्ष जिताउन लविङ गरेका थिए । सह-कोषाध्यक्ष रहेका यादव गत एन्फा निर्वाचनमा कर्मा छिरिङको प्यानलमा चुनाव लड्ने तयारीमा थिए, तर सिरहा फुटलब संघका उनी चुनाव लड्न अयोग्य रहेको निर्णय गरिएको थियो । पंकजले उनलाई पछि सह-कोषाध्यक्षको जिम्मेवारी दिएका थिए ।

सहमहासचिव विजय घले निर्वाचनमा पंकज प्यानलबाट सदस्यमा हारेका थिए । मनाङ मर्स्याङ्दीका पूर्वअध्यक्ष घलेलाई पछि सहमहासचिवमा ल्याइएको थियो ।

यस्तै थ्रीस्टार क्लबका पूर्वअध्यक्ष अरुणमान जोशीले निर्वाचनमा पंकजलाई साथ दिएका थिए । त्यसैको गुणस्वरुप उनलाई पनि सहमहासचिवमा ल्याइएको थियो । एन्फाको निर्वाचन समितिमा रहेका दामोदरबद्री भट्टराईलाई पछि तलबी पद दिइएको थियो । पंकजलाई चुनावमा साथ दिएका नवीन पाण्डे निकट मानिन्छन् भट्टराई । नवीनकै प्रभावमा पछि भट्टराईले सहमहासचिव पद पाएका थिए ।

पंकज एन्फा अध्यक्ष निर्वाचित भएको केही समयपछि नवीनसँग उनको सम्बन्ध बिग्रिएको थियो । गणेश थापाविरुद्धको चेन्ज एन्फा अभियानमा कुनै समय पंकज, कर्माछिरिङ र नवीन एकै ठाउँमा थिए । पंकजले पाँचथर फुटबल संघका पूर्वअध्यक्ष सुरेश शाहलाई प्रवक्ताको जिम्मेवारी दिएर केन्द्रमा भित्र्याएका हुन् ।

एन्फाका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह एन्फा नेतृत्वले तलबका नाममा आफू निकटलाई मनलाग्दी पैसा बाँडिरहेको बताउँछन् ।

‘कसले कति तलब पायो भन्दा पनि कुन पदमा कति तलब दिइने हो, ती पदमा नियुक्त हुने योग्यता के हो भन्ने कुरा महत्वपूर्ण होला, तर हाम्रोमा चाहिँ आफू निकटलाई खुसी पार्ने ठाउँ भएको छ’, गत निर्वाचनमा हारेका सिंहले भने ।

स्रोतका अनुसार एन्फाले वार्षिक रुपमा एएफसी र फिफाबाट विभिन्न शीर्षकमा करिब एक अर्ब रुपैयाँ प्राप्त गर्ने गरेको छ ।
नेपालमा घरेलु लिग नियमित छैन । पछिल्लो पटक कहिले भएको थियो भनेर खेलाडीलाई ठ्याक्कै सम्झिन गाह्रो छ। आगामी लिग कहिले हुन्छ भन्ने पनि निश्चित छैन ।

एन्फाको पछिल्लो कार्यसमिति बैठकले राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्यको मासिक तलब ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *