पर्यटनमन्त्री पाण्डेद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण (भिडिओ)
बुद्ध जन्मस्थल नै विमानस्थल चल्ने आधार भएको भनाइ
रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि सञ्चारकर्मीसंग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुटसहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए ।
उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेयले भिस्सा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए ।
बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको बताए । निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न निर्देशन दिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरुका तर्फबट बौद्ध राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चीनलगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्ध जन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।
मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूती दिने गरी सौन्दर्यीकरण गर्न सुझाव दिए ।
उक्त अवसरमा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले विमानस्थल नेपालको पुर्वमा चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।
उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलमईसम्म ९२३ जनमले मात्रै उडान भरेका छन् ।
निरीक्षणमा सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खाँन, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्री, नागरिक उडडयन प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।
मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ ।
यसअघि लुम्बिनी विकास कोषका तर्फबाट उपपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई विमानस्थलमा स्वागत गरिएको थियो । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई९सिद्धिचरण०, सदस्य सचिव सानुराजा शाक्यलगायतले स्वागत गरेका हुन् ।
लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डे बुद्वजन्मस्थल लुम्बिनी आएका हुन् । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा कोषको परिषद बैठक बस्नेछ ।