गण्डकीमा एमालेबाट थपिए ४ मन्त्री, आजै शपथ हुने
पोखरा । गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन् ।
जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
साढे १ बजे शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । योसँगै गण्डकीमा मन्त्रिपरिषदले पुर्णता पाएको छ ।
आइतबार मात्र मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्याएका थिए।