सुदूरपश्चिममा ३ वर्षमा १७३० ले गरे आत्महत्या
डोटी । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार सात सय ३० जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार आत्महत्या गर्नेहरूमध्ये एक हजार चार सय पाँच जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यो संख्या प्रदेशभित्र आत्महत्या गर्ने कुल संख्याको ८१.२१ प्रतिशत हुन आउँछ ।
यस्तै, दुई सय ५४ जनाले विष सेवन गरेर, १७ जनाले आगो लगाएर, ३१ जनाले पानीमा हामी फाली डुबेर, ९ जनाले करेन्ट लाएर, १२ जनाले हाम फालेर १२ र दुई जनाले हात हतियार खरखजाना प्रयोग गरी आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ ।
गत वर्ष (०८०/०८१) मा पाँच सय ९७ जनाले आत्महत्या गरेका छन् । गत वर्ष झुन्डिएर चार सय ७२, विष सेवन गरे ७३, पानीमा हाम फाली डुबेर २५, आगो लगाएर १६, करेन्ट लगाएर सात, हाम फालेर दुई र हात हतियार खरखजाना प्रयोग गरी दुई जनाले आत्महत्या गरेका छन् ।
यस्तै, आर्थिक वर्ष ०७९/०८० मा पाँच सय ५७ जनाले आफ्नो जीवन आफै समाप्त गरेका छन् । त्यस अवधिमा झुन्डिएर चार सय ६७, विष खाएर ७९, पानीमा हाम फाली डुबेर पाँच, हाम फालेर पाँच र करेन्ट लाएर एक जनाले अकालमै ज्यान गुमाएको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा पाँच सय ७६ जनाले आत्महत्या गरेका छन् । सो वर्षमा झुन्डिएर आत्महत्या गर्नेको संख्या चार सय ६६ रहेको छ । यस्तै, विष खाएर एक सय दुई, हाम फालेर पाँच, करेन्ट लाएर एक, आगो लाएर एक र पानीमा हाम फाली डुबेर एक जनाले आत्महत्या गरेको प्रहरीसँग अभिलेख छ ।
प्रदेशका नौ जिल्लामध्ये कैलालीमा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी छ । यस जिल्लामा तीन वर्षको अवधिमा सात सय ८२ जनाले आत्महत्या गरेका छन् । यो संख्या सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्ने कुल संख्याको ४५ प्रतिशत हो । यस जिल्लामा ०७८/०७९ मा दुई सय ५९, ०७९/०८० मा दुई सय ५८ र गत आर्थिक वर्षमा दुई सय ६५ जनाले आत्महत्या गरेका छन् ।
यस्तै, कञ्चनपुरमा तीन वर्षको अवधिमा चार सय ३० जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा ०७८/०७९ मा एक सय ३६, ०७९/०८० मा एक सय २७ र गत आर्थिक वर्षमा एक सय ६७ गरी चार सय ३० जनाले आत्महत्या गरेका प्रहरीको अभिलेखमा छ ।
सुदूरपश्चिममा सात पहाडी जिल्लाहरूमध्ये सबैभन्दा बढी आत्महत्याका घटना हुने जिल्ला बैतडी देखिएको छ । यस जिल्लामा तीन वर्षको अवधिमा ९२ जनाले आत्महत्या गरेका छन् । ०७८/०७९ मा ३६, ०७९/०८० मा २५ र गत आर्थिक वर्षमा ३१ जनाले आत्महत्या गरेका छन् । सो अवधिमा डडेल्धुरा जिल्लामा ८१ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा ०७८/०७९ मा २७, ०७९/०८० मा ३० र गत आर्थिक वर्षमा २४ जनाले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अछाममा ०७८/०७९ मा ३३, ०७९/०८० मा २४ र गत आर्थिक वर्षमा २१ गरी ७८ जनाले आत्महत्या गरेका छन् ।
यस्तै, तीन वर्षको अवधिमा बझाङमा ७४ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा ०७८/०७९ मा २६, ०७९/०८० मा २६ र गत आर्थिक वर्षमा २२ जनाले आत्महत्या गरेका छन् ।
पहाडी जिल्लामा हुने आत्महत्याका घटनाको आधारमा डोटी जिल्ला पाँचौँ स्थानमा देखिएको छ । यस जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा ३२, ०७९/०८० मा २४ र गत आर्थिक वर्षमा २७ गरी तीन वर्षको अवधिमा ७३ जनाले आत्महत्या गरेको प्रहरीले उपलब्ध गराएको सूचनामा छ ।
दार्चुला जिल्लामा तीन वर्षको अवधिमा ७० जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ०७८/०७९ मा २४, ०७९/०८० मा २७ र गत आर्थिक वर्षमा १९ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये आत्महत्याका घटना कम हुने जिल्ला बाजुरा देखिएको छ । यस जिल्लामा तीन वर्षको अवधिमा ५१ जनाले आत्महत्या गरेका छन् । ०७८/०७९ मा नौ, ०७९/०८० मा २२ र गत आर्थिक वर्षमा २० जनाले आत्महत्या गरेका छन् ।
वर्षेनि आत्महत्याका घटनाहरू बढ्दै भएका छन् । सोचे अनुसारको प्राप्ति नहुनु, परीक्षामा असफल हुनु, घरेलु हिंसा, प्रेममा असफल हुनु जस्ता कारणले मानिस आत्महत्याको तहमा पुग्ने गरेको प्रहरीको भनाई छ ।