माओवादीको दोस्रो सर्कुलर- जनार्दनको सन्दर्भलाई ‘बोल्ड’ गरेर पठाइयो – Nepal Press

माओवादीको दोस्रो सर्कुलर- जनार्दनको सन्दर्भलाई ‘बोल्ड’ गरेर पठाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केही दिनअघि सम्पन्न स्थायी समिति बैठकको निचोड पुन: सर्कुलर गरिएको छ । यसअघि पनि परिपत्र गरिएकोमा बोल्ड गरिएका विषय पुन: थपेर पठाइएको हो ।

सर्कुलरमा पछिल्लो समयमा कतिपय सन्दर्भमा माओवादी पार्टी विभाजन हुँदैछ भनेर चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउने प्रचारमा कुनै सत्यता नरहेको भन्दै पार्टी एकतावद्ध रहेको तथा रहीरहने उल्लेख छ ।

यसअघि पठाइएको सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदैछ भन्ने भाष्य चिर्नको लागि प्रचण्डको सम्बोधनको सार संक्षेपमा बोल्ड गरेर ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो, साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो’ भन्ने थप गरिएको छ ।

साथै पार्टीभित्र उठेका विषयहरूलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने दस्तावेजमा प्रचण्डले समावेशन गर्ने विश्वास दिएको विषयलाई पनि थप गरेर बोल्ड गरिएको छ ।

पार्टीले कांग्रेस र एमालेबीचको ७ बुँदै सहमति पश्चगामी र प्रतिगामी कदम भएको निष्कर्ष निकालेको छ । बैठकले संविधान संशोधन गर्ने नाममा मुलुकलाई २०४७ सालतिर फर्काउने संकेत देखिएको निचोड निकालेको छ ।

‘संविधान संशोधन गर्ने भनिएका विषय सुन्दा १० वर्षको जनयुद्ध र बृहत शान्ति सम्झौता पछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक-समावेशी लगायतका उपलब्धीलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ ।’

समिति बैठक सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ ।

भ्रष्टाचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टलाई बचाउने अहिलेको सरकारको नियत प्रष्ट भएको पनि निष्कर्ष निकालिएको छ भने संविधानले सुनिश्चित गरेको बहुदलीय प्रतिस्पर्धाको प्रणालीलाई उल्ट्याएर २ दलीय सर्वसत्ताबाटतर्फ लैजाने दिशामा उद्दत भएको पनि निष्कर्ष माओवादीको छ ।

यस्तै परिपत्रमा भनिएको छ, ‘राष्ट्रियताको दृष्टिकोणले वर्तमान विश्व परिवेश र भू-राजनीतिक स्थितिको सन्दर्भमा मुलुकमा अस्थिरता र अराजकता पैदा गराउने, राज्यलाई झन् कमजोर बनाउने, कमजोर अवस्थामा नै विदेशी शक्ति केन्द्रले आफ्नो स्वार्थअनुरूप नेपालको राष्ट्रिय हित प्रतिकूलका सम्झौता गराउने र मुलुकको राष्ट्रिय अस्मितालाई झन् कमजोर तुल्याउने देखिन्छ ।’

प्रतिगमन, राष्ट्रघात, भ्रष्टको संरक्षण, जनताका दैनिक समस्या आदी विषयलाई लिएर सदनमा प्रतिपक्षमा रहेर सशक्त ढंगले भूमिका निर्वाह गनुपर्ने, सदनमा खबरदारीका बाबजुत पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टको संरक्षण गर्ने दिशामा सरकार झन्झन् अघि बढेको कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने आवश्यकतालाई ध्यानमा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

बैठकले २०७८ सालमा सम्पन्न पार्टीका आठौं महाधिवेशनबाट पारित प्रस्ताव ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ मा उल्लेखित कार्यदिशा नै अहिलको सन्दर्भमा सही र वस्तुसम्ममत कार्यदिशा रहेको निष्कर्ष निकालेको छ ।

परित्रपमा भनिएको छ, ‘पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृति बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहको गुट-उपगुट क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृति तथा गतिविधि देखिए । पार्टीको विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदान भयो । विगत कालमा त्यस प्रकारका चिन्तन प्रवृतिप्रति उदार सोचले गर्दा त्यसलाई निरुत्साहित गर्न सकेनौ ।’

समान विचार मिल्ने अन्य वाम घटकसँग पनि वाम ध्रुवीकरण तथा वृहत कम्युनिष्ट पार्टी एकतामा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ । साथै तत्काल पार्टी एकता हुन नसकेका अन्य वाम घटकसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिनुपर्ने सर्कुलरमा उल्लेख छ ।


प्रतिक्रिया

2 thoughts on “माओवादीको दोस्रो सर्कुलर- जनार्दनको सन्दर्भलाई ‘बोल्ड’ गरेर पठाइयो

  1. सडकमा आए भने यी हत्यारा, लुटाहा , विदेशीका दलालहरूलाई जनताले लखेटनेछन् । जो चोर उसैको ठूलो स्वर ? मोदीको एजेण्टले ठूला कुरा गर्ने ? यो माओवादी भन्ने प्टी र यसका नेता नेपाल तहसनहस पार्न विदेशीले खडा गरेका दलाल हुन् । प्रचण्डको कुरा व्यवहार हेरौं न । कुरा क्रलियर छ त ।
    अब पनि यी दलालहरूलाई ठाउँ दिने नेपालमा ? अस्तिसम्म आफू, परिवार र भरौटेहरू मिलेर लुटिरहेको प्रचण्ड एण्ड कम्पनि अहिले सडकमा आउने ? बैना लिएकाहरूले घर घेर्न आए कि क्या हो दलालहरूको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर