योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रियामार्फत आएका योजनामा मात्रै बजेटः मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् ।
योजना छनोट प्रक्रियामार्फत अघि बढेका योजनालाई सरकारले कार्यान्वयन गर्ने भएकाले योजनाहरुको प्राथमिकता निर्धारण गर्न र विषयगत कार्यालयमार्फत अघि बढ्न निर्देशन दिएका हुन् ।
नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बजेट रकमान्तरण नगर्ने भन्दै छुटेका योजनाहरुलाई अर्को वर्ष सम्बोधन गरिने बताए ।
‘योजना माग्नको लागि मन्त्रालय धाउन पर्दैन । तल्लो निकायबाट हुने योजना छनोटको प्रक्रियालाई फलो गरेर अघि बढेका योजना समावेश गरिन्छ’उनले भने–‘पहुँचको आधारमा हुने योजना छनोटको विधिलाई निरुत्साहित गर्न खोजेका छौं । आवश्यकताका आधारमा प्रक्रियागत रुपमा अघि बढेका योजनालाइ छान्छौं ।’
लुम्बिनी प्रदेश सरकारले बनाउने आवधिक योजना र योजना बैंकमा समावेश योजनाहरुलाई वार्षिक योजनको रुपमा छान्ने प्रक्रियाको थालनी गर्ने भनाइ उनको छ । ‘पहुँचको भरमा योजना छान्ने तर, कार्यान्वयन गर्न खोज्दा नहुने, ठाउँ फेला नपर्ने, विवाद हुने, स्वार्थ बाझिने जस्ता समस्याहरु सुनिन्छन’उनले भने–‘अब सरकारले आवधिक योजना र योजना बैंकमा रहेका योजनालाई वार्षिक योजनाको रुपमा अघि बढाउँछ ।’
समृद्धि, विकास र सुशासनमा पार्टीपंक्तिको दायित्वको बारेमा प्रशिक्षण दिएका मुख्यमन्त्री आचार्यले सरकार गठन भएदेखि अहिलेसम्मका उपलब्धिको चर्चा समेत गरेका छन् । सरकारले गरेका राम्रा काम र अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न कार्यकर्तालाई उनले आग्रह गर्दै चुनावअघि र पछिको समयमा जनप्रतिनिधि, पार्टी बीचको सम्बन्ध बलियो हुनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको बताउँदै उनले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउँदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिताको दायराभित्र राख्ने, पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने विषय सुशासनसंग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको जनाए । प्रदेश सरकार गठन भएको छोटो अवधसमा नै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको उनको भनाइ थियो ।
योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउँदै मुख्यमन्त्री चौधरीले महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संशाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गरे।