तीन महिनाभित्रै कसरी सुध्रियो बैंकहरुको पुँजी कोष ? यी बैंकले बाँड्न पाउने भए लाभांश – Nepal Press

तीन महिनाभित्रै कसरी सुध्रियो बैंकहरुको पुँजी कोष ? यी बैंकले बाँड्न पाउने भए लाभांश

काठमाडौं । तीन महिना अघिसम्म अधिकांश बैंकहरुको टाउको दुखाइको विषय बनेको पुँजी कोषमा चमत्कारिक सुधार देखिएको छ । तीन महिना अघिसम्म करिब आधा दर्जन वाणिज्य बैंक पुँजी कोषको सकसमा थिए, तर तीन महिनापछि तीमध्ये अधिकांशको पुँजी कोषको सकस टरेको छ । यद्यपि, अझै २ वटा बैंकले तीन महिनापछि पनि आफ्नो पुँजी कोष सुधार्न सकेनन् ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात (कोर क्यापिटल टु टोटल रिक्स वेटेज एक्सपोजर) कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ ।

यस आधारमा पछिल्लो त्रैमासमा (असार मसान्तमा) एनआईसी एशियाले मात्र तोकिएको पुँजी कोष पुर्‍याउन सकेको छैन । यस बैंकको अघिल्लो त्रैमासमा पनि पुँजी कोष कम थियो । अघिल्लो त्रैमासमा ८.२५ प्रतिशत प्राथमिक पुँजी अनुपात भएको एनआईसीले असार मसान्तसम्म झिनो सुधार गरे पनि नियामकको बोर्डर लाइनभन्दा तल छ ।

सामान्यतया यस्तो पुँजी कोष ९ प्रतिशतभन्दा माथि हुनुलाई कम्फर्ट जोन मानिन्छ । यता कुमारी बैंकको पनि ८.५६ प्रतिशत प्राथमिक पुँजी अनुपात रहेको छ । यसको पुँजी अनुपात नियामकले तोकिएकै लाइनमा रहे पनि अघिल्लो त्रैमासमा (चैत मसान्तसम्म) ८.०३ प्रतिशत थियो ।

पुँजी कोषको सकसमा रहेको हिमालयन बैंक, माछापुच्छ्रे बैंक र प्रभु बैंकले यो त्रैमासमा सुधार गरेका छन्, तर प्रभुको दोस्रो त्रैमासमा (पुस मसान्त) पुँजी कोष नियामकीय बोर्डर लाइनभन्दा तल थियो । प्रभु बैंकको गत पुसमा यस्तो अनुपात ८.१२ प्रतिशत थियो ।

कुनै एक त्रैमासमा मात्र पनि नियामकीय बोर्डरलाइन तल जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात भए उक्त आर्थिक वर्षको लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । यसकारण गत आर्थिक वर्षको नाफाबाट एनआईसी एशिया बैंक, कुमारी बैंक र प्रभु बैंकले लाभांश वितरण गर्न पाउने छैनन् ।

जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपातसमेत जोडिने कुल पुँजी कोष अनुपातमा समेत दबाबमा रहेका केही बैंकले सुधार गरेका छन् । अझै तीन वटा बैंक यस्तो पुँजी कोषको दबाबमा छन् ।

कुल पुँजी कोष अनुपात कम्तीमा ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । यस्तो अनुपात १२ प्रतिशत माथि भए कम्फर्ट मानिन्छ । नेपाल बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल पुँजी कोष अघिल्लो त्रैमासको तुलनामा बढेको छ । राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकको कुल पुँजी कोष १२ प्रतिशतभन्दा तल छ ।

कुन बैंकको पुँजी कोषको अवस्था कस्तो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *