कहाँ पुग्यो नेपाल प्रिमियर लिग खेल्ने ८ फ्रेन्चाइजका मालिक छनोट प्रक्रिया ? – Nepal Press

कहाँ पुग्यो नेपाल प्रिमियर लिग खेल्ने ८ फ्रेन्चाइजका मालिक छनोट प्रक्रिया ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ फ्रेन्चाइज घोषणा गरे पनि त्यसका मालिकको टुंगो लाग्छ बाँकी छ ।

क्यानले फ्रेन्चाइज खरिद गर्न चाहनेका लागि सार्वजनिक सूचना आह्वान गरेको थियो । सुरुमा ६ फ्रेन्चाइज खेल्ने भनेर ‘रिक्वेस्ट फर प्रोपोजल (आरएफपी)’ निकालिएको थियो ।

आरएफपीमा मालिक बन्न चाहने योग्यता पनि तोकिएका थिए । १८ वटाले आवेदन फर्म लिएका थिए । त्यसमा १६ वटाले आवेदन बुझाएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

आवेदकमध्येबाट सर्ट लिस्ट गरेर फ्रेन्चाइज बिडिङ प्रक्रियामा जाने अन्तिम चरणमा रहेको क्यानले जनाएको छ ।

‘आजभोलिसम्म सर्टलिस्ट हुनेछ’, उनले भने । आवेदन परेपछि क्यानले फ्रेन्चाइजको संख्या ६ बाट ८ पुर्‍याएको थियो, जसमा आवेदकहरुले सहमति जनाइसकेको क्यानको दाबी छ । यसरी सहमति लिने क्रममा आवेदकले खरिद गर्न चाहेको टीमहरुबारे पनि जानकारी लिइएको छ ।

क्यानले काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगरसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई फ्रेन्चाइज टीम बनाउने बुझिएको छ । अब क्यानले बिडिङका लागि यी टीमहरुका लागि न्यूनतम मूल्य तोक्नेछ । त्यही न्यूनमत मूल्यबाट बिडिङ सुरु हुनेछ ।

टीमअनुसार न्यूनतम मूल्य फरक फरक तोकिने सम्भावना रहेको क्यान प्रवक्ता लामाको भनाइ छ।

एउटै टीममा दुईको दाबी पर्‍यो भने के हुन्छ ?

हालै पोखरा एभेन्जर्सले आफूहरुले विगतमा आयोजित नेपाल टी-२० लिगमा करोडौंको लगानी गरेको भन्दै क्यानले आफ्ना लागि पोखरा टीम सुनिश्चित गर्नुपर्ने बताएको थियो ।

दुइटा टीमले बराबर रकम प्रस्ताव गरेको समयमा गोलाप्रथाबाट मालिकको टुंगो लाग्ने सूचना पाएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

पोखरा एभेन्जर्सका सुबोध त्रिपाठीले भनेका थिए, ‘हामी अन्य टीमले लगाए जति रकम दिन तयार छौं, तर गोलप्रथा हामीलाई मान्य छैन ।‘

त्यस्तो अवस्थामा मालिकको छनोट कसरी हुन्छ भन्नेमा छुम्बीले पनि प्राविधिक विषय भएकाले त्यो सम्बन्धित समितिले तयार गरिरहेको बताए ।

एनपीएलकै तयारीमा काम गरिरहेका क्यानका अर्का अधिकारीले भने गोलप्रथाबाट मालिक छनोटको प्रक्रिया नहुने बताए ।

‘दुइटा टीमले बराबरी रकम लगाएको अवस्थामा अन्य मापदण्डहरु तोकिएका छन्, जसले को मालिक भन्ने टुंगो लाग्नेछ, तर गोलप्रथाबाट चाहिँ हुँदैन’, ती अधिकारीले भने ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ गतेसम्म एनपीएल आयोजना गर्ने तयारी छ । यसमा विदेशबाट पनि खेलाडी सहभागी हुनेछन्, तर एउटा टीममा कति जनासम्म विदेशी खेलाडी राख्न पाउने र कति जनासम्म एउटा खेलमा खेलाउन पाउने भन्ने निर्णय हुन बाँकी छ ।

गत वर्ष आयोजना भएको नेपाल टी-२० लिगमा एउटा टीमले एक खेलमा बढीमा ४ जनासम्म विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर