कमला नदी पार गर्न डुंगामा यसरी मोल्नुपर्छ जोखिम (तस्बिरहरू) – Nepal Press

कमला नदी पार गर्न डुंगामा यसरी मोल्नुपर्छ जोखिम (तस्बिरहरू)

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

नदीमा बाढी घटेपछि स्थानीयले डुंगा चलाउन थालेका हुन् । उनीहरू डुंगामा मोटरसाइकल, साइकल र पैदल यात्रीलाई आरपार गर्छन् । साइकल र मोटरसाइकल आरपार गर्दा डुंगा चलाउनेले एक सय रुपैयाँ लिँदै आएका छन् ।

भासिएको कमला पुल अलपत्र परेको छ । पुलको पूर्वतिर कटानगरी नदी बग्न थालेपछि यस वर्ष डुंगा चढ्नुपर्ने अवस्था आएको छ । हुलाकी सडक अति व्यस्त मानिन्छ । तर नदीमा पुल नहुँदा ठूलो सास्ती र जोखिम मोल्नुपरेको यात्रीहरू बताउँछन् ।

डुंगामा ७र८ वटासम्म मोटरसाइकल र दर्जनौँ व्यक्ति चढाउने गरिएको छ । एक त डुंगा जीर्ण, त्यसमा पनि क्षमताभन्दा बढी गाडी र मानिस चढाउने गरेकाले यात्रा गर्दा डर लाग्ने गरेको एक यात्रुले सुनाए ।

‘पुल नभएको अवस्थामा डुंगामा यात्रु ओसार्नु राम्रो कुरा हो,’ जनकपुरधामबाट सिरहातर्फ आएका जयनाथ यादव डुंगा चढेर नदी पार गर्दा भने, ‘पैसा लागे पनि टेन्सन छैन । तर यात्रा सुरक्षित हुनुपर्छ ।’

उनले डुंगाको क्षमता हेरेर कति गाडी र कति मानिस चढाउन पाउने कुरा स्थानीय प्रशासनले तोकेर यात्रा सुरक्षित गर्नुपर्ने बताए । नदीमा यात्रुहरू कसरी यात्रा गर्छ भन्ने कुरामा प्रशासन र सरकारको ध्यान नपुग्नु दुःखद् रहेको उनको भनाई छ ।

‘यात्रुको यति धेरै बढी चाप हुने हुलाकी सडकमा पर्ने नदीमा पुल नबन्नु विडम्बना हो,’ उनले भने, ‘अस्ति ईन्जिनियरहरुले अनसन बस्दा मधेश सरकारले नयाँ पुल बनाउने सहमति भयो । यो सहमति अनुसार तत्कालै पुल निर्माण प्रक्रिया अगाडी बढाउनुपर्‍यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर