चिकित्सा शिक्षा आयोगको रिजल्ट त्रुटिबारे १० दिनभित्र छानबिन गर्न संसदीय समितिको निर्देशन (भिडिओ)
काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसंग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसंग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस बिषयमा आवश्यक छानबिन गर्ने बताइन् । उनले नजिता आएपछि आफु निरन्तर आयोगसंग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरिन् । नतिजाप्रति आएका गुनासाहरुको दायित्व आफ्नो निकायले लिने उहाले बताउनुभयो । उहाले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमि हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरिन् ।
त्यस्तै, आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नंवरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे । समान नंवर लिएर आएको समूहमात्रै नजिता फरक परेको भन्दै छानविनका लागि आयोग तयार रहेको उनले बताए ।
बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन् । उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् ।