माओवादीले भ्रम छर्दैछ, समावेशितामा कुनै सम्झौता नगरी संविधान संशोधन हुन्छः कांग्रेस प्रवक्ता (भिडिओ)
'एउटै दलको बहुमत र समावेशिता कायम हुने गरी अघि बढ्छौं'
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने प्रष्ट्याएका छन् ।
बुधबार बीपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको ‘नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती’ विषयका गोष्ठीमा उनले कांग्रेस-एमालेबीचको ७ बुँदे सम्झौतामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने प्रतिबद्धता जनाए ।
नेकपा माओवादी केन्द्रले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम छरिरहेको महतको टिप्पणी छ । क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फत पनि समावेशिता ल्याउन सकिने उनले बताए ।
महतले भने, ‘खासगरी माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेको छ, समावेशितालाई कमजोर गर्न भनेर गरिरहेको छ । गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोसिस भएको छ । यो कदापि होइन । समावेशितामा कुनै कम्प्रमाइज हुँदैन । कुनै सम्झौता हुँदैन । निर्वाचन पद्धतिमा परिवर्तन गरेर एउटै दलले बहुमत ल्याउने व्यवस्था गर्ने हो भने यसले स्थिरता दिन्छ । प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ । यहाँ महिला-महिलाको बीचमा, दलित-दलितको बीचमा क्षेत्र आरक्षण गरेर प्रत्यक्षबाटै ल्याउन सकिन्छ । यसरी हामी एउटै दलको बहुमत आउनसक्ने परिस्थिति पनि हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्नेछौँ ।’
माओवादीले पद बेच्न पाईदैन भनेर संविधान संशोधन गर्न नमानेको हो ।