कर घटाउने निर्णयमा हेटौँडाकी मेयरको आलटाल, कांग्रेसका जनप्रतिनिधिको पनि साथ – Nepal Press

कर घटाउने निर्णयमा हेटौँडाकी मेयरको आलटाल, कांग्रेसका जनप्रतिनिधिको पनि साथ

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बोलाएको कार्यपालिका बैठक उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको समर्थनमा नेपाली कांग्रेसका उपमेयर राजेश बानियाँसहितका कार्यपालिका सदस्यले बहिष्कार गरेका छन् ।

कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न एमालेका बहुमत कार्यपालिका सदस्यहरू लिखित मागपछि आज बोलाइएको बैठक मेयर लामाले कांग्रेसका जनप्रतिनिधिलाई देखाएर स्थगित गरेकी हुन् ।

उपमहानगरपालिकाले गत असारमा भएको नगरसभाले ३० देखि १५० प्रतिशतसम्म करको दर बढाएको थियो । एमाले जनप्रतिनिधिलाई गुमराहमा राखेर करको दर बढाएको नेतृत्वमाथि आरोप छ । यो निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौँडाका व्यवसायी आन्दोलित भए । उनीहरूले व्यवसाय बन्द गर्नेदेखि तालाचाबी बोकेर धर्ना दिए । उपमहानगरपालिकाले ८ बुँदे सहमति गर्दै करको दरलाई परिवर्तन गर्न विशेष नगरसभा बोलाउने सहितको ८ बुँदे सहमति गरेको थियो ।

त्यसको दुई दिनअघि एमालेका बहुमत कार्यपालिका सदस्यले विशेष नगरसभाको लागि लिखित माग गरेका थिए । कानूनी व्यवस्थाअनुसार बहुमत सदस्यले लिखितरूपमा विशेष नगरअधिवेशनको आव्हान गरेपछि त्यसको एक महिनाभित्र उक्त अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।

सोही अधिवेशनको मिति तोक्न बोलाइएको बैठकमा २९ मध्ये १६ जना बहुमत कार्यपालिका सदस्य उपस्थित हुँदा समेत मेयर लामाले एकपक्षीय ढंगबाट बैठक स्थगित गरेकी हुन् । मंगलबारको बैठकलाई मेयर लामा, उपमेयर बानियाँसहित कांग्रेसका ८ र एकीकृत समाजवादीका एक गरी १० जना कार्यपालिका सदस्यहरूले वहिष्कार गरेका हुन् । लामाले राजश्व परामर्श समितिका संयोजक बानियाँसँग थप छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरेकोमा एमालेले आपत्ति जनाएको छ ।

वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले लोकतन्त्रमा बहुमत जनप्रतिनिधि उपस्थित हुँदा समेत मेयरले एकपक्षीय ढंगबाट बैठक स्थगित गर्नु अराजक क्रियाकलाप भएको बताए । बैठक बोलाइसकेपछि बैठकमा नै समस्याको समाधानको विषयमा छलफल गरिनुपर्ने भन्दै यस्ता क्रियाकलापले उपमहानगरको गरिमा घट्ने उनको भनाइ छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भने बैठकको विषयमा पुनः छलफल गरेर अर्को मिति तय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर