धनगढीमा गृहमन्त्री लेखकले भने- सहमतिमै संविधान संशोधन हुन्छ,अपव्याख्या नगरौं
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका छन् ।
नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले संविधान निर्माण गर्दा भएको जस्तै सहमति संविधान संशोधनमा पनि हुने विश्वास व्यक्त गरेका थिए ।
‘संविधान निर्माण गर्दा हिजो मुलुकका प्रमुख राजनैतिक दलहरूसँग सहमति गरेका थियौँ त्यस्तै सहमति गरेर संविधान संशोधन गर्ने छौँ’ उनले भने, ‘अहिले संविधान संशोधनको विषयलाई उपव्याख्या गर्न आवश्यक छैन । ’
संविधान संशोधन गर्दा आधारभूत तत्त्वलाई थप बलियो बनाइने गृहमन्त्री लेखकको भनाइ थियो ।
‘संविधान संशोधन गर्दा आधारभूत तत्त्वहरू संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था ,विधिको व्यवस्था, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार र समावेशी चरित्रको राज्य व्यवस्थालाई बलियो बनाउनको लागि संविधान संशोधन गर्ने भनिएको हो ’ उनले स्पष्ट पारे ।
गृह मन्त्री लेखकले यस विषयमा अनावश्यक टिका टिप्पणी गर्नुपर्ने आवश्यक नरहेको समेत बताएका थिए ।
उनले सांसदका दुई ठुला र प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउने कुरा विरलै देखिने भन्दै यसले मुलुकमा केही सुधारको सङ्केत देखिएको समेत बताए । स्थिर समीकरण र स्थिर सरकार गठनको लागि ठुला दुई दलको समीकरण तयार भएको उनले बताए ।
‘दिगो सान्ती, सुशासन, विकास र संवृद्धिको लक्ष्य सहित नयाँ समीकरण बनाइएको हो ’ उनले भने, ‘समय सापेक्ष ढंगले संविधान संशोधन गर्ने हाम्रो एजेन्डा हो । ’
१० वर्षको सशस्त्र द्वन्द्वका सबै घटनाहरू अन्वेषण गर्ने, सत्यको खोजी गर्ने, न्याय गर्ने र दोस्रो पटक यस्ता द्वन्द्व नहुने सुनिश्चितता गर्ने उद्देश्य रहेको समेत उनले बताए । ठुला दुई दल मिल्दा शान्ति प्रक्रियाका बाकी काम पनि अब टुङ्गोमा पुग्नै गइरहेको उनले बताए ।
‘१८ वर्ष अन्योलमा थियो । गएको ८् ९ वर्षदेखि यो अवरुद्ध थियो । तर, अहिले दुई ठुला दल मिल्दा हामीले ३० दिनमा त्यो काम ग¥यौँ ’ उनले भने, ‘आम जनतामा सकारात्मक सन्देश गएको छ । अहिले यो कानुन पारित गर्ने बित्तिकै अन्तर्राष्ट्रिय देश र महत्त्वपूर्ण ९ संघ संस्थाले समर्थन गरेका छन् । ’
उनले दुई ठुला दल मिलेर बनेको समीकरणको पूर्ण पालना हुने र सहमतिहरू इमानदारिता पूर्वक कार्यान्वयन हुने समेत विश्वास व्यक्त गरेका थिए ।
एमालेसँग समीकरण बनाउँदै गर्दा प्रतिस्पर्धाको दृष्टिकोणले पनि हेर्न लेखकले नेता कार्यकर्ताहरूलाई सुझाव दिएका थिए ।
‘हामी संयुक्त रूपले समीकरण बनाएर जाँदै गर्दा सँगसँगै प्रतिस्पर्धा पनि दिमागमा छ । प्रतिस्पर्धा पनि छ र समीकरण बनाएर अगाडी बढिरहेको यो अवस्थामा अत्यन्त सुझबुझका रुपमा अगाडी बढ्न जरुरी छ ’ उनले भने ।
उनले कैलालीका विभिन्न विषयमा पनि जानकारी गराएका थिए ।
गेटा मेडिकल कलेजको कानुन अन्तिम चरणमा रहेको र कानुन लागू गरेर गेटा मेडिकल कलेजलाई अगाडी बढाउने गृहमन्त्री लेखकले दाबी गरे । उनले कैलालीमा आवश्यक स्थानमा प्रहरी चौकी निर्माण गर्ने, भन्सार क्षेत्रमा नागरिकमाथि हुने सास्ती कम गर्न सिमा सुरक्षा जाँचको विषय अगाडी बढाउने र राष्ट्रिय परिचय पत्र प्राप्तिमा हुने सास्ती समेत कम गर्ने आश्वासन दिएका थिए ।
गृहमन्त्री लेखकलाई कांग्रेस कैलाली सचिव नृप सुनारले जिल्लाको आवश्यकताको विषयमा जानकारी गराएका थिए । उनले जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरी बिटहरू स्थापना गर्न,स्थापना भएकाहरूमा संरचना बनाउन र केही प्रहरी कार्यालयहरूको स्तरोन्नति गर्न माग गरेका थिए ।
गृहमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम आएका गृहमन्त्री लेखक आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।