अमेरिकी राष्ट्रपति चुनाव: विपक्षी नेता र पत्रकारमाथि भएका दमनका पाँच उदाहरण
काठमाडौं । काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहले कब्जा गरेको ठीक दुई दशकपछि अमेरिकामा राष्ट्रपति चुनाव सुरु भएको थियो । सन् १७८९ मा अमेरिकामा जर्ज वासिङ्टनले पहिलो राष्ट्रपतिको चुनाव जित्दा नेपालमा रणबहादुर शाह राजा थिए ।
नेपालसँगको अमेरिकी समयसीमा दाँज्दा पत्ता लाग्छ कि अमेरिकाको चुनावी इतिहास त्यो बेला सुरु भयो, जुन बेलामा विश्वले चुनिएका राष्ट्र तथा सरकार प्रमुख बनाउने कल्पेकै थिएन । यही कारण अमेरिकालाई विश्वको सबैभन्दा पुरानो लोकतन्त्र भन्ने गरिन्छ । र, अमेरिकी विदेश नीतिको एक प्रमुख औजार यही लोकतन्त्र हो ।
अमेरिकाले अरु देशमा वाक स्वतन्त्रता नहुँदा चर्को आलोचना गर्दै लोकतन्त्र नभएको भन्छ । अमेरिकाले विपक्षी दलका नेताहरुलाई सत्ताले पेलपाल गरेको जस्तो लागेमा औंला उठाइहाल्छ । अमेरिकाले पत्रकारहरुले पत्रकारिता गर्दा कुनै सकस वा तनाव भएमा प्रेस स्वतन्त्रता हनन भएको कुरामा प्रश्न गरिहाल्छ । कुनै देशले अमेरिकी, युरोपेली मिडिया वा सोसल मिडिया बन्द गर्दा पनि अमेरिकाले लोकतन्त्रमा असर भएको भन्ने गर्छ ।
यो त अमेरिकाले अरु देशहरुलाई खासगरी अमेरिकासँग त्यति राम्रो सम्बन्ध नभएका देशहरुलाई भन्ने कुरा हो, तर के अमेरिका जस्तो विश्वको सबैभन्दा जेठो भनिएको लोकतन्त्र मानक छ त ? के अमेरिकी लोकतन्त्रमा सत्ताका पात्रहरुको खरो आलोचना गर्ने प्रेसदेखि प्रतिपक्षीसम्म तनावरहित छन् त ? अमेरिकाको पछिल्ला उदाहरण, अमेरिकाको विपक्षी दल रिपब्लिकन पार्टीले लगाएको आरोप तथा अमेरिकी समाचारहरु हेर्दा भन्न सकिन्छ- छैनन् ।
यो सामग्रीमा अमेरिकी लोकतन्त्रमा प्रतिपक्षी दलका नेता, पत्रकार तथा विदेशी मिडियाहरुलाई दिइएको तनावको सवालको पाँच उदाहरण राखिएको छ ।
१. सत्ताधारी पार्टीकी पूर्वनेताले विपक्षीलाई समर्थन गर्दा आतंकवाद जोडिने कानून प्रयोग
सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा अहिलेको सत्ताधारी दल तथा त्यो बेलाको प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवारी घोषणा गर्नेमा एक हुन् तुलसी गाबर्ड । अमेरिकी सेनामा जागिर गरेर इराक युद्धमा फ्रन्टलाइनमा जोडिएकी थिइन् तुलसी । उनी अमेरिकी सदनमा निर्वाचित पनि भएकी अनुहार हुन् । सन् २०२० को लागि सन् २०१९ जनवरीमा उम्मेदवारी घोषणा गरेकी उनले फेब्रुअरीबाट अभियान सुरु गरिन्, तर सन् २०२० को मार्चमा आएर उनले उम्मेदवारी त्यागिन् ।
सन् २०२० मा अमेरिकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुमा कमला ह्यारिससँगै थिइन तुलसी गाबर्ड । उनीहरुले बर्नी स्यान्डर्स, जो बाइडेनलगायतका उम्मेदवारहरुसँग एकै लहरमा उभिएर दलको तर्फबाट भएको राष्ट्रपति चुनावको उम्मेदवारीको बहसमा भाग लिएका थिए ।
उक्त बहसमा उनले हिलारी क्लिन्टनलगायतले गरेको विदेशी सत्ता परिवर्तन तथा युद्धमा अमेरिकी करदाताहरुको खर्बौं डलर खर्च गरेकोमा कडा आपत्ति जनाउँदै पहिलेको डेमाक्रेटिक पार्टी यस्तो नभएको बताएकी थिइन् । बहसमा तुलसीले कमलाको कडा आलोचना गरेकी थिइन् । जवाफमा कमलाले भनेकी थिइन्, ‘जसले ओबामाको चार वर्षे कार्यकालभरि उनलाई फक्स न्यूजमा गएर आलोचना गरिन्, आज उनै डेमोक्रेटिक पार्टीको उम्मेदवारको रुपमा उभिएकी छन् । यो दुःखद हो ।’
जवाफमा तुलसीले भनेकी थिइन्, ‘सिनेटर ह्यारिसले जे गरिरहेकी छन् त्यो दुर्भाग्य हो । उनले मेरा तर्कलाई काट्न नसकेर मेरो बद्नाम तथा झूटो कुरा गरिरहेकी छन् ।’
उनै तुलसी गाबार्डले दुई वर्ष अगाडि डेमोक्रेटिक पार्टी छाडिन् । उनले पार्टी छाडेपछि पनि कमलाको आलोचना गरिरहेकी छन् । उनले कमलालाई निर्वाचनबाट नआएको मान्छेले सेनाको कमाण्ड गर्न नसक्ने भन्दै आएकी थिइन् । सन् २०२२ अक्टोबर ११ मा पार्टी छोड्नुको कारण भन्दै तुलसीले ट्विटर (अहिलेको एक्स)मा भिडियो सन्देश राखेर भनेकी थिइन्, ‘म अहिलेको डेमोक्रेटिक पार्टीमा रहन सक्दिनँ, जुन पार्टी युद्ध चाहने एलिटहरुको घेराबन्दीमा छ ।’
आरोपमा उनले प्रहरी तथा सुरक्षा निकायलाई पार्टीकरण गरेको, हरेक अमेरिकीलाई रेसमा बाँडेर विभाजन गरेकोलगायतका आरोप पनि लगाएकी थिइन् । पहिलेको पार्टी यस्तो नभएको भन्दै उनले छोडेकी थिइन् ।
तुलसीले पार्टी नछोडुञ्जेल ठीकठाक थियो, तर जब उनले पार्टी छोडिन्, अनि गत महिना औपचारिक रुपमा रिपब्लिन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरिन्, त्यसपछि उनलाई तनाव दिन सुरु गरियो । कतिसम्म गरियो भने उनलाई आतंकवादसँग जोडिएको कानून लगाएर खानतलास गरियो । निगरानी गर्न तीन जना एयर मार्सल खटाइयो ।
गत जुलाई २३ पछिका हरेक उडानमा उनले आफू र आफ्ना श्रीमानलाई धेरै खानतलासी गर्न थालेको गुनासो गरेकी छन् । यस्तो गरियो, मानौं उनी पूर्वअमेरिकी सैनिक, सांसद नभएर अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम भएको जस्तो गरियो । योबारेमा तुलसीले एक दिन अगाडि १४ मिनेट २० सेकेन्डको भिडिओमार्फत् आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छन् ।
आफूले २१ वर्ष अमेरिकाको सुरक्षाको लागि काम गरेको तर अहिले आफूलाई नै बाइडेन-ह्यारिस सत्ताले राजनीतिक प्रतिशोधका रुपमा तनाव दिएको बताएकी छन्, तर बाइडेन-ह्यारिस सत्ताले तनाव दिएपछि तुलसी डगमगाएकी भने छैनन् ।
उनले आफ्नो भिडिओमा भनेकी छन्, ‘म पछि हट्दिनँ । हामी पछि हट्दैनौं । अमेरिकन सेन्टर फर ल एण्ड जस्टिसले मेरोतर्फबाट मलाई र मेरो परिवारलाई गरिएको असंवैधानिक राजनीतिक प्रतिशोधको विरुद्धमा कानूनी लडाइँ लड्नेछ ।’
२. डेमोक्रेटिक पार्टी छोडेका तथा पिता र बडाबा हत्या भएका स्वतन्त्र राष्ट्रपति उम्मेदवार केनेडी जुनियरलाई सुरक्षा दिन आलटाल
रोबर्ट एफ केनेडी जुनियर अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीका पूर्वराष्ट्रपति उम्मेदवार हुन् । उनी यो चुनावमा सुरुमा स्वतन्त्र उम्मेदवार थिए । उनको समर्थन १५ प्रतिशतसम्म पुगेको बताइएको थियो, तर उनलाई अमेरिकी सरकारले सुरक्षा दिएन । सरकारी सुरक्षा नभएकोले उनको कार्यक्रममा निजी सुरक्षा व्यवस्था गर्नुपर्ने भयो । त्यसको लागि उनले ३० लाख अमेरिकी डलर खर्चेको गत जुलाईमा नेशनल रिभ्यू समाचार पोर्टललाई बताएका थिए ।
रोबर्ट एफ केनेडी जुनियर त्यो घरानाका मान्छे हुन्, जसका परिवारका दुई सदस्य राष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार हुँदा मारिएका थिए । उनका पिता रोबर्ट एफ केनेडीलाई सन् १९६८ जुन ५ मा राष्ट्रपति उम्मेदवार हुँदा मारिएको थियो । उनका बडाबा तथा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सन् १९६३ नोभेम्बर २२ मा हत्या गरिएको थियो । उनीहरु दुवै डेमोक्रेटिक पार्टीका उम्मेदवार थिए ।
डोनाल्ड ट्रम्पको हत्या प्रयास भएपछि ट्रम्पको आग्रहमा उनलाई अमेरिकाले सुरक्षा सुविधा दिएको थियो । ट्रम्पले सुरक्षा माग गरेपछि मात्रै पाएका रोबर्ट एफ केनेडी जुनियरले अगस्ट अन्तिम साता ट्रम्पकै समर्थन गरे । बदलामा ट्रम्पले उनका पिता तथा बडाबाको हत्याबारेका गोप्य सरकारी फाइलहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।
३. बाइडेन पुत्रको समाचारबारेमा बोल्ने सरकारी बजेटले चल्ने मिडियाका पत्रकार निष्कासित, ट्विटरसँगको साँठगाँठ सार्वजनिक गर्ने पत्रकारलाई करछली मुद्दा
राष्ट्रपति जो बाइडेनका पुत्र हन्टर बाइडेनका ल्यापटप काण्ड आयो । त्यो काण्ड सरकारी प्रयोजन हुने अमेरिकी रेडिओ नेरसन पब्लिक रेडियो (एनपीआर)ले प्रकाशन गरेन । यसबारेमा वरिष्ठ वाणिज्य सम्पादन उरी बर्लिनरले दि फ्रि प्रेस नामक अन्लान पोर्टलमा लामो लेख गरेर हन्टर बाइडेनको ल्यापटपको समाचार प्रकाशन गर्दा डोनाल्ड ट्रम्पको जीत हुनसक्ने भन्दै नछापिएको लेखे ।
उनले रेडियोले वामपन्थी खालका सामग्रीलाई मात्रै प्राथमिकता दिने बताए । यसो भन्दा उनलाई रेडियोले निष्कासन गर्यो । यसलाई डेमोक्रेटिक पार्टी पक्षधर अखबार न्यू योर्क टाइम्सले संस्थागत मर्यादा पूरा नगरेकोमा निष्कासन गरेको भन्ने समाचार बनायो । रिपब्लिकन पार्टी पक्षधर अखबार न्यू योर्क पोस्टले भने यसलाई हन्टर बाइडेनको कुरा उठाएकोमा निष्कासन गरेको समाचार लेख्यो, तर वाक स्वतन्त्रता भएको देशमा बोलेकै आधारमा जागिर गएको कुरामा सत्ताधारी विचार बोक्ने अखबार, बौद्धिक तथा अभियानकर्मीहरुले भने खासै चर्चा गरेनन् ।
यस्तै पत्रकार म्याट ताइबीले अमेरिकी सरकारको हन्टर बाइडेनको समाचार लुकाउन ट्विटरसँगको साँठगाँठ सार्वजनिक गरे । न्यू योर्क पोस्टको समाचार सेन्सर गर्न अपनाइएको नयाँ नियमबारेमा उनले समाचार लेखेका थिए । त्यो समाचार प्रकाशन भएपछि उनमाथि सत्ताधारी पत्रकार तथा नेताहरुको आक्रमण सुरु भयो । पछि अमेरिकी सरकारले उनलाई करछलीको मुद्दा लगायो । सन् २०१८ को क्रिसमसको एक पार्टीमा उनले कर छलेको आरोप लगाइयो ।
४. रुसी मिडिया प्रतिबन्ध, पत्रकारलाई कारबाही
लोकतन्त्र नभएको देशमा मिडिया बन्द हुनु सामान्य कुरा हो । पत्रकारले भोग्ने तनाव झन् सामान्य हो, तर लोकतन्त्र भएको र विश्वको सबैभन्दा जेठो लोकतन्त्र भन्ने अमेरिकाले गर्ने यस्तो बन्दलाई सामान्य मान्न सकिन्न । अमेरिकाले रुसी पत्रकार तथा रुसले अमेरिकी पत्रकारलाई प्रवेश रोक्ने कुराहरु त हुँदै आएका थिए, तर गत बुधबार अमेरिकाले रुसी मिडिया आरटीलाई प्रतिबन्ध लगाउने बाटो खुलाएको छ । आरटीमा काम गर्ने दुई पत्रकारलाई कारबाही गर्ने भएको छ ।
भारत तथा भेनेजुएला तथा बंगलादेश आदिले विदेशी मिडियालाई कडाइ गर्दा आलोचना गर्ने अमेरिकी आईएनजीओहरु भने यो मुद्दामा मुखर भएका छैनन् । रुस, चीन आदिले विदेशी मिडिया तथा पत्रकारलाई तनाव दिँदा प्रेस स्वतन्त्रता हनन भएको भन्ने अमेरिकाले आफैंले त्यसो गर्दा भने मिथ्या सूचनालाई रोक्न तथा अमेरिकी चुनावमा रुसी हस्तक्षेप बन्द गर्ने तर्क गरेको छ, तर कुन कुन सूचना के कारणले मिथ्या भएको भन्ने कुरा चैँ खुलाइएको छैन । अरुले बन्द गर्दा लोकतन्त्रको हनन र आफूले बन्द गर्दा मिथ्या सूचनाको रोकथाम भन्ने अमेरिकी लाइन रोचक देखिन्छ ।
हन्टर बाइडेनको ल्यापटपमा बन्दुक तथा विभिन्न गैरकानूनी कुराहरु भएको कुरा अमेरिकी अखबार न्यू योर्क पोस्टले सार्वजनिक गरेको थियो ।
५. एफबीआई निर्देशकबाट ट्रम्पको कानमा गोली नलागेको भन्दै हत्या प्रयासको सामान्यीकरण
अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई हत्या प्रयास गरियो । गत जुलाई १३ मा पेन्सिलिभियाको बट्लर क्षेत्रमा भएको राजनीतिक सभामा उनलाई गोली हानिएको थियो । अनुहारमा ताकेर हानिएको गोली उनको भाषण हुँदा अनुहार छेलिएर लाग्न पाएन, तर उनको कानमा गोली लाग्यो ।
अमेरिकी सुरक्षा निकायका एक एफबीआईका निर्देशक क्रिस्टोफर रेले ट्रम्पलाई गोली हानिएको कुरालाई हल्काफुल्का रुपमा लिए । उनले निजी सवालमा यस्तो हल्काफुल्का रुपमा लिएका होइनन् । उनले अमेरिकी सांसदहरुलाई दिएको बयानमा यस्तो बताएका थिए । निदेर्शक रेले जुलाई २४ मा भनेका थिए, ‘पूर्वराष्ट्रपति ट्रम्पको सवालमा गोली उनको कानमा लाग्यो वा लागेन भन्नेबारेमा केही प्रश्न छन् ।’
रिपब्लिकन पार्टीका नेता कार्यकर्ता तथा अमेरिकी जनता नै गोली प्रहारको घटनाबाट चिन्तित हुँदा त्यसलाई सामान्यीकरण गरेर गोली लागेको हो वा छर्रामात्रै लागेको भनेर एफबीआईका निर्देशकले प्रश्नको खेती गरे । यसबारेमा विभिन्न समाचार बने । अमेरिकाको डेमाक्रेटिक दलसँग बढी झुकाब राख्ने भनिने टाइम म्यागाजिनलगायतले पनि यही कुरामा समाचार बनाए ।
अन्ततः ट्रम्पलाई गोली लागेकै सार्वजनिक भयो । ट्रम्पको कानमा गोली लागेको प्रमाणित भयो । यो समाचार अमेरिकी सरकारको समाचार एजेन्सी एपीले पनि प्रकाशन गर्यो । जसलाई पछि गएर एफबीआईले नै हो भन्यो । देशको पूर्वराष्ट्रपति तथा वर्तमान राष्ट्रपति उम्मेदवारको हत्या प्रयास हुँदा कुनै सरकारी अधिकारीहरु पक्राउ परेका छैनन् । कसैलाई दोषी करार गरिएको छैन । योबारेमा अमेरिकी सरकार नै उदासीन भएको रिपब्लिकन पक्षधरहरुले आरोप लगाउँदै आएका छन् । तुलसी गाबार्डले पनि अमेरिकी सुरक्षा संयन्त्र अहिले सत्ताधारी दल डेमोक्रेटिक पार्टी तथा बाइडेन-ह्यारिस सत्ताको प्रहरीमात्रै भएको आरोप लगाएकी छन् ।
याे पनि पढ्नुस् : अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलको चर्चा: एकतर्फ कमला, अर्कोतर्फ उषा
सिएनएन, विविसी जस्ता मिडिया स्वतन्त्र र निष्पक्ष छैनन् । ती सरकारका मुखपत्र हुन् । अमेरिका आफूले भनेको मानेमा तानाशाह भए पनि ठिक छ भन्छ र नमानेमा जतिुुकै प्रजातान्त्रिक भए पनि खेदो गर्छ । खाडीमा राजा भएको देश साउदी उसको मित्र, सैनिक शासन मार्फत सत्ता हत्याएको इजिप्ट मित्र तर प्रजातान्त्रीक इरान शत्रु ।त्यसैले अमेरिकाले भनेको परिभाषा मान्नै पर्छ भन्नेहरू उसका दास मात्र हुन् ।
संसारलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकी सरकार हतियारद्वारा मान्छेको मुल्यांकन गर्छ साम्राज्यवादी मुलुक हो
संसारमा आफुलाई मात्र राम्रो अरू खराव मान्ने छुल्याहा देश मानिस मानिस विचको विभेदकारी अरू देशका नागरिकलाई किराफट्याग्रा मान्ने विध्वंस मच्चाउने देश र शासकरहेको देश।
नेपालमा,भारतमा,अमेरिकामा के को डेमोक्रेसी हुनु ? असली डेमोक्रेसी त चीनमा,रूसमा,इरानमा,भेनेजएलामा,उत्तर कोरियामा होला नि । कस्ता कस्ता उल्टे बुद्धि लेखक पैदा हुन्छन् नेपालमा । नेपालका अोपिनियन मेकरहरूको बुद्धि देखेर भाउन्न हुन्छु म । डेमोक्रेसी कसैले भनिदिएर र गर्दिएर हुने हो र ? डेमोक्रेसीको सर्वमान्य सिद्धान्त छैन र ? जनता स्वतन्त्र छ भने त्यहाँ अमेरिकाले समर्थन नगरे पनि प्रजातन्त्र छ । जनताको अधिकार खोसिएको छ भने त्यहाँ अमेरिकाले छ भने पनि प्रजातन्त्र छैन । यति सिधा कुरालाइ जेउरो बटार्दा जस्तो बटारेका छन् । मूर्ख सोचेको मानिसलाइ ?