सोलुवासीसँग रक्षामन्त्री राईको आग्रह- फोन उठाउन भ्याउँदिनँ, नरिसाउनु होला
काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् ।
शनिबार गृह जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्य व्यस्तताले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न जिल्लावासीलाई पटकपटक आग्रह गरे ।
रक्षामन्त्री राईले बिहान-बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भए पनि आफूलाई जानकारी गराउन अनुरोध गरे ।
कहिलेकाहीँ त राति अबेरसम्म मन्त्रिपरिषद् बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको उनको भनाइ थियो ।
मन्त्री राईले भने, ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त ! त्यो भएर कहिलेकाहीँ रातिसम्म मन्त्रिपरिषद् बैठकमै हुन्छु । यो सत्य कुरा हो । हामी साढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने, नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईंहरुको कुरा आओस् । बिहान-बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने बिजी रहेछ, उठाइदिएन भनेर अन्यथा नठानिदिनु होस् । मलाई डर यति छ ।’
सबैभन्दा सजिलो नेतालाई सांसद बनाएको र मन्त्री भएका सबैभन्दा अप्ठेरो भयो, फोन पनि नउठाउने, भेट्न पनि नपाइने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने आफूलाई ठूलो त्राही भएको उनको भनाइ छ ।
मन्त्री राईले किराँत संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।