एक वर्षअघि नेपाल फाइनान्समा लगानी गर्ने लगानीकर्ताको पोर्टफोलियो कति पुग्यो ?
काठमाडौं । वित्तिय अवस्था खासै गतिलो नभएको नेपाल फाइनान्सको सेयर मूल्य वृद्धिसँगै यसको चर्चा चुलिन थाल्यो । वित्तिय अवस्था राम्रो नभएको नेपाल फाइनान्सको सेयर मूल्य अचाक्ली बढेपछि यो विषय संसदको अर्थ समतिमा पनि प्रवेश गर्याे ।
पूर्व अर्थमन्त्रीहरुले त के कारणले फण्डामेन्टली कमजोर भएका कम्पनीको सेयर मूल्य उचालिएको छ त्यसबारे ध्यान दिन नियामकलाई भने । गत आर्थिक वर्ष जम्मा १ करोड ८१ लाख मात्र नाफा गर्न सकेको नेपाल फाइनान्स आजभन्दा एक वर्ष अघि (२०८० असोज २२ गते) सेयर मूल्य प्रतिकित्ता २ सय ८८ रुपैयाँ थियो ।
त्यसको १२ महिनापछि (२०८१ भदौ २३) सेयर मूल्य १ हजार ५ सय ८२ रुपैयाँ पुग्यो । एक वर्ष अघि नेपाल फाइनान्सको सेयरमा लगानी गरेका लगानीकर्ताले एक कित्तामै १ हजार २ सय ९४ रुपैयाँ कमाइसकेका छन् ।
सर्वसाधारणको ३३ लाख ५५ हजार ७ सय ७५ कित्ता सेयरको पुँजीकरण ५ अर्ब ३० करोड ८८ लाख ३६ हजार रुपैयाँ पुगिसकेको छ । यस कम्पनीको संस्थापक सेयर भने ५० लाख ३३ हजार ६६४ कित्ता रहेको छ ।
नेपाल फाइनान्सको सेयर मूल्य साउन २८ गते हालसम्मकै उच्च पुग्यो । एक कित्ताकै मूल्य २ हजार ४ सय १८ रुपैयाँ कायम भयो । उच्च मूल्य हुँदा हौसिएर किनेका लगानीकर्तालाई भने अहिले घाटा भएको छ । त्यस यता यसको सेयर मूल्य विस्तारै घटिरहेको छ । यति बेलासम्म लगानीकर्ताले एक कित्तामै ८ सय ३६ रुपैयाँ घाटा खाएका छन् ।
नेपाल फाइनान्सले विगत दुई आर्थिक वर्षयता लगानीकर्तालाई कुनै पनि लाभांश दिएको छैन । त्यस अघिको दुइ वर्ष भने हकप्रद सेयर जारी गरेको थियो ।
गत आर्थिक वर्षको (२०८०/८१) मा नेपाल फाइनान्सको खुद नाफा घटेको छ । यस अवधिमा खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ । न आकर्षक प्रतिसेयर आम्दानी न त लाभांश । तैपनि लगानीकर्ताहरु यसमा झुम्मिएका छन् ।