श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ? – Nepal Press

श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

काठमाडौं । श्रीलंकामा सेप्टेम्बर २१ अर्थात् असोज ५ गते चुनाव हुँदैछ । गत साउन ३१ गते राष्ट्रपतीय उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको थियो । जसमा चर्चित अनुहार थिए- वर्तमान राष्ट्रपति ७५ वर्षका रनिल विक्रमासिंगे, पूर्वराष्ट्रपति रनसिंगे प्रेमदसाका छोरा ५७ वर्षका सजिथ प्रेमदसा तथा पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महेन्दा राजापाक्षेका छोरा ३८ वर्षका लक्ष्मण नमल राजापाक्षे चर्चित अनुहार थिए । अहिले नयाँ अनुहारको चर्चा हुन थालेको छ । ती अनुहार हुन् अनुरा कुमारा दिसानायके ।

५५ वर्षका उम्मेदवार उनको चर्चा हुनुको कारण उनी अस्वाभाविकरूपमा लोकप्रिय बन्नुमा मात्रै होइन् । उनी वामपन्थी हुनुमा पनि हो । को हुन् त अनुरा कुमारा दिसानायके ? कस्तो छ उनको राजनीतिक चर्चा ? यो सामग्रीमा त्यो कुराको चर्चा गरिएको छ ।

मत सर्वेक्षणमा अग्रणी बन्दै अनुरा कुमारा

अनुरा कुमार दिसानायके पछिल्लो समयमा युवाहरूमा चर्चित छन् । उनको सर्वेक्षणको ग्राफ उक्लँदो छ । केही समय अगाडि श्रीलंका ओपिनियर ट्र्याकर सर्वेले गरेको एक सर्वेक्षण अनुसार अनुरा कुमारा सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३७ प्रतिशत मत छ भने उनका निकट प्रतिस्पर्धी सजित प्रेमादसाको ३६ प्रतिशत छ । वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगेको मत प्रतिशत २३ मात्रै छ । रोचक कुरा महेन्दा राजापाक्षेत्र पुत्र लक्ष्मण निमलको दलको मत भने कमजोर देखिएको छ । श्रीलंकाका मात्रै होइन विश्वका विभिन्न मिडियाहरूले पनि अनुरा कुमाराको जितको सम्भावना भएको देखाएका छन् ।

फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ का अनुसार भ्रष्टाचार बिरोधी अडान तथा अभियानको कारणले सन २०२२ को आर्थिक संकट आएको बताएका कारण उनको लोकप्रियता बढेको छ ।

तीन सीटे संसद र गत चुनावको तेस्रो स्थान सुधार गर्दै अनुरा कुमारा

गत राष्ट्रपतीय चुनावमा उनी तेस्रो भएका थिए । स्थानको आधारमा तेस्रो भएका उनको मत प्रतिशत पनि ज्यादै कम आएको थियो । उनले ३.१६ प्रतिशतमात्रै मत पाउन सफल भएका थिए । यस्तै श्रीलंकाको वर्तमान संसदका २२५ सदस्यमा अनुरा कुमाराको गठबन्धनको सीट तीनमात्रै छ । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार उनी राष्ट्रिय जनशक्ति (एनपीपी) नामको गठबन्धनको उनी नेतृत्व गर्छन् । एनपीपी गठबन्धनको महिला समूह, नागरिक समुह, राजनीतिक दल तथा ट्रेड युनियनहरू गरेर २१ घटक छन् ।

एनपीपीमा जोडिएको अनुरा कुमाराको दलको नाम जनमुक्ति मोर्चा (जेभीपी) हो । यो मोर्चामा अहिले महिला जेभीपी सशस्त्र युद्ध गरेको दल हो । तर, त्यो युद्धमा सर्वनाक पराजय भोगेर शान्तिपूर्ण राजनीतिमा आएको दल हो । जेभीपीले सन् १९७१ र सन् १९८७ मा शशस्त्र युद्ध गरेको थियो । युद्धमा ८० हजारको ज्यान गएको थियो र त्यसपछि दलले शान्तिपूर्ण राजनीतिक रोजेको फ्रान्स २४ ले उल्लेख गरेको छ । जेपीपीले सशस्त्र युद्ध गर्दा अनुरा कुमारा विश्वविद्यालयमा थिए । उनले सशस्त्र संघर्षमा भाग नलिएको बताउँछिन् श्रीलंकाकी पत्रकार नभोदया जयविक्रमा । उनी त्यो समयमा विद्यार्थी आन्दोलनमा भएको उनी बताउँछिन् ।  अनुरा कुमारा दिसानायके सन २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थिए । उनले सन १९८७ सालबाट राजनीतिमा आएर सन १९९१ मा जेभीपी दलमा जोडिएका थिए ।

सन २००० बाट श्रीलंकाली सदनमा आएका उनी सन् २००४ मै कृषि, पशुपन्छी, भू तथा सिँचाइमन्त्री भएका थिए । उनलाई मन्त्री बनाउनमा तत्कालीन राष्ट्रपति कुमारातुङ्गाको गठबन्धनको योगदान भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् ।

अनुराका चुनावी मुद्दा- सीमित वैदेशिक लगानीदेखि राष्ट्रपति प्रणाली खारेजीसम्म

अनुरा कुमाराका चुनावी मुद्दाहरूमा मुलतः भ्रष्टाचार नियन्त्रण हो । उनले वैदेशिक लगानीको कुरा पनि गरेका छन् । वैदेशिक लगानीमा उनले निश्चिम क्षेत्रहरूमा जहाँ श्रीलंकाको आन्तरिक अर्थतन्त्रले धान्दैन त्यसमा मात्रै विदेशी लगानी ल्याउने बताएका छन् ।

यसबारेमा उनले दलको घोषणा सार्वजनिक समारोहमा भनेका छन्, ‘हामी विदेशी कम्पनीहरूले नविकरणिय उर्जाको क्षेत्रमा ल्याउँछौँ जहाँ हामीसँग लगानी गर्ने ठूलो पुँजी छैन ।’

राष्ट्रपति गोताबाया राजापाक्षेलाई खेदाउने तहको आन्दोलनको नेतृत्व गरेका अनुरा कुमारा आफैँ भने राष्ट्रपतीय प्रणालीका विरोधी हुन् । उनले राष्ट्रपतीय प्रणाली खारेज गरेर संसदीय प्रणाली सुरू गर्ने बताएको फ्रान्स २४ ले उल्लेख गरेको छ । श्रीलंकामा लोकतन्त्र हुँदाको अवस्थामा सन् १९७८ ताकासम्म बेलायती मोडेलको संसदीय व्यवस्था थियो । त्यसपछि मात्रै राष्ट्रपतिय उमेद्वार सुरु भएको हो ।

चुनावी मुद्दा उनले आन्तरिक उत्पादन बढाएर देशको आय बढाउने बताएका छन् । मार्क्सवादी लेनिनवादी सिद्धान्तबाट चल्ने उनको गठबन्धनले देशको अर्थतन्त्रमा श्रमजीवि वर्गको पक्षमा काम गर्ने बताएको छ ।

श्रीलंकाको उत्तरी भागमा बस्ने तमिलहरूलाई पनि अरुना कुमाराले साथ लिन खोजेका छन् । उनको सामाजिक सञ्जाल फेसबुकको तमिल भाषाको बेग्लै पेज छ । हालसालै उनले दक्षिणी भारतबाट प्रकाशन हुने मूलधारे अखबार दि हिन्दूलाई अन्तर्वार्ता दिँदा पनि तमिलको कुरा गरेका छन् ।

तमिल युद्धपछिको न्याय, जवाफदेहीता र सत्य तमिल जनताले पाउनुपर्ने भन्दै उनले भनेका छन्, ‘हाम्रो उद्देश्य राष्ट्रिय संयन्त्रहरूलाई भरोसायोग्य र चुस्त बनाउनु हो ताकी तमिल जनताले विश्वास गर्न सकुन् । विगतका सरकारहरूले सत्य लुकाउन र प्रकृया लम्ब्याउन प्रतिबद्ध थिए ।’

भारतबारेमा नकरात्मक मानिने जेभीपीका नेताहरूलाई पछिल्ल्लो समयमा भारतले निम्तो दिइरहेको छ । केही समय अगाडि भारतीय सांस्कृतिक सम्बन्ध प्रतिष्ठानको कार्यक्रममा जेभीपीका नेताहरूलाई निम्तो दिइएकव ।

दि हिन्दूसँगको अन्तरवार्तामा पनि अनुरा कुमाराले भारतसँग ऊर्जा र पूर्वाधार क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै भनेका छन्, ‘भारतसँग काम गर्न आवश्यक छ ।’

अनुरा कुमाराको राजनीतिबारे नेपाल प्रेसले श्रीलंकाका वामपन्थी राष्ट्रपति उम्मेदवार अनुरा कुमारा दिसानायकेको बारेमा जानकारी लिन दुईजनासँग कुराकानी गरेको छ । एकजना उद्यमी तथा प्रकाशन हेसन जे. पियरेस छन् भने अर्को एकजना पत्रकार तथा अनुरा कुमारालाई नजिकबाट चिन्ने पत्रकार नभोदया जयविक्रमा छिन् ।

 ७६ वर्षे पारिवारिक सत्तामा लाग्न सक्छ ब्रेक : उद्यमी हेसन जे. पियरेस

श्रीलंका स्वतन्त्र भएपछि बन्दरानाइके, सेनानायके र जयवर्दने जस्ता केही परिवारमा सत्ता सीमित भयो । अहिलेका वर्तमान राष्ट्रपति तथा राष्ट्रपति उमेद्वार रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयवर्दनेका भतिजा हुन् । सजिथ प्रेमदशा पूर्वराष्ट्रपति आर प्रेमादसाका छोरा हुन् भने नमल राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेत्रका छोरा हुन् । यसको मतलब चार प्रमुख राष्ट्रपति  उम्मेदवार तीनजना श्रीलंकाको पछिल्लो ७६ वर्षमा जमेका परिवार सत्तामा अनुहार हुन् । ती परिवारहरू श्रीलंकाको आर्थिक गिरावट र धान्न नसकिने ऋणका जोडिएका छन् ।

यी सबैभन्दा फरक छन् अनुरा कुमारा दिसानायके । उनी जेभीपी दलका नेता हुन् । यसलाई एनपीपी गठबन्धन भनिन्छ । यहाँ २१ विभिन्न घटकहरू छन् । उनी विद्यार्थीकालबाटै माक्सवादी राजनीतिमा जोडिएका हुन् । उनले संरचनागत परिवर्तन, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाइरहेका छन् । उनी राष्ट्रपति हुने बलियो सम्भावना छ । भविष्यको राष्ट्रपति जो भएता पनि नयाँ राष्ट्रपतिले धेरै समस्याहरूसँग जुध्नुपर्ने हुन्छ । त्यसमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) सँगको सम्बन्ध, ऋण पुनःसंरचनादेखि देशको अर्थतन्त्रलाई स्थिर राख्नेलगायतका मुद्दा पर्छन् ।

सबैभन्दा धैर्यवान नेता मान्छु : पत्रकार नभोदया जयविक्रमा

म कमरेड अनुरा कुमारा दिसानायकेलाई श्रीलंकाका सबैभन्दा धैर्यवान् नेता मान्छु । सन् २०१९ को चुनावमा तेस्रो भएर पराजित हुँदा पनि उनले सन् २०२४ को चुनावमा जनतालाई आकर्षित गरेर बलियोसँग आउन सके । विगत आठ वर्षबाटै श्रीलंकामा पटकपटक सत्ता हाँकेकाहरूबाट भएका भ्रष्टाचारका मुद्दा उठाइरहेका उनले जनतालाई धोकाधडी, भ्रष्टाचार र अनियमिताको बारेमा जगाइरहे ।

उनले सडकदेखि संसदसम्म यो कुराहरू उठाइरहे । जनतालाई जनताको करको दुरुपयोग गरेको भनिरहे । सूसूचित गरिरहे । उनी अरु नेता तथा दलहरूलाई चुनौती भइरहे । उनलाई सत्ताधारी र अरु ठूला दलहरूले तनाव दिइरहे पनि उनले बोल्न छोडेनन् ।

विद्यार्थी नेताको रूपमा राजनीतिमा जोडिएका उनले जेभीपी दल सन् २०१४ मा मात्रै प्रवेश गरेका हुन् । सन् २००५ मा उनी एकीकृत जन स्वतन्त्रता गठबन्धनमा जोडिएर कृषि, पशुपन्छी, भू तथा सिँचाईमन्त्री भए । सहकार्यात्मक नेतृत्वमा अनुरा कुमारा दिसानायके विश्वास गर्छन् । अरुका कुरा सुन्ने र करुणाभाव पाउँछु म उनमा । सन् २०१९ मा एनपीपी गठबन्धन बनाएर उनले यो गठबन्धनमा जनआकर्षण बढाए । उनको लोकप्रियता गाउँदेखि सहरसम्म छ । सन् २०१९ को चुनावी हारपछि त झनै बढेको छ ।

सबैलाई समान शिक्षामा पहुँच, कानूनी शासन भएको निष्पक्ष समाज उनका मुद्दाहरू हुन् । देशको अर्थतन्त्रको फाइदाको लाभ सबै जनताले लिनुपर्ने पनि उनको माग हो । श्रीलंकाको राजनीतिमा उनी एक टर्निङ प्वाइन्ट हुन् । सहकार्यात्मक नेतृत्वको लागि यो एक सुन्दर अभियान हो । मलाई विश्वास छ उनको जितपछि श्रीलंकाको राजनीतिक संस्कृतिमा व्यापक फेरबदल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर