सत्तारुढ दल बैठक : कांग्रेस-एमालेकाे ७ बुँदे सहमतिअनुसार नै न्यूनतम साझा कार्यक्रम ल्याउने – Nepal Press

सत्तारुढ दल बैठक : कांग्रेस-एमालेकाे ७ बुँदे सहमतिअनुसार नै न्यूनतम साझा कार्यक्रम ल्याउने

काठमाडौं । सत्तारुढ दलहरुबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताएका छन् ।

उनले सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको बताए । उनले न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरुबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताए ।

‘आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसदको कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने, सरकार संसदको कामलाई कसरी सन्तुलित ढंगबाट, व्यवस्थित ढंगबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयहरुमा छलफल केन्द्रित थियो’, उनले भने, ‘यो सरकार निर्माणका केही समझदारीहरु पनि थिए । विशेष गरी नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा ७ बुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिवद्धता गरेका थियाँै । न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने बताए । उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।

‘नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रुपमा अघि बढाउने कुरामा सरकार लागेको छ । साझा न्युनतम कार्यक्रम अब सात बुँदे सहमतिअनुसार आउनेछ । त्यसलाई अझ विस्तृत रुपमा हामीले सात बुँदे सम्झौताअनुसार साझा न्युनतम कार्यक्रम ल्याउनेछाँै’, उनले भने ।

प्रमुख सचेतक घिमिरेले संविधान संशोधनमा बढीभन्दा बढी राजनीतिक दलहरुको सहमति जुटाएर संशोधन गर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर