अध्यक्षले राजीनामा दिएपछि पत्रकार महासंघमा अन्योल, के होला असोज ५ को चुनाव ? – Nepal Press

अध्यक्षले राजीनामा दिएपछि पत्रकार महासंघमा अन्योल, के होला असोज ५ को चुनाव ?

विधानअनुसार बरिष्ठ उपाध्यक्ष रमेश विष्ट स्वतः कार्यवाहक

काठमाडौं । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएसँगै नेपाल पत्रकार महासंघका महासघंको निर्वाचन अन्यौलग्रस्त भएको छ । आगामी असोज ५ गतेका लागि तय भएको निर्वाचनको पूर्वसन्ध्यामा पोख्रेलले पदत्याग गरेका हुन् ।

महासंघमा दर्ता भएको राजीनामा पत्रमा तोकिएकै समयमा निर्वाचन गराउन महासंघकै केन्द्रीय समितिले साथ नदिएको गुनासो उनले गरेका छन् । पत्रकारका भातृ संघ–संगठनले पनि सदस्य सूची आफुलाई देखाएर अघि बढ्नुपर्ने ‘धम्की’ दिएको उनको गुनासो छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘निर्वाचन गराउनका लागि मैले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यको बैठक चल्दै गर्दा बीचवाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सुचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस भएन ।’

थप भनेका छन्, ‘बाह्य सरोकारवाला पक्षले समेत सदस्यता सूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन । यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यबाहक अध्यक्षका रुपमा जिम्मेवारी दिदै आजैका मितिदेखि लागु हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु ।’

महासंघका अध्यक्षले राजीनामा पत्रमा ‘…बैठक चल्दै गर्दा बीचवाट केही साथी बाहिरिएको’ प्रसंगमा सचिव गोविन्द चौलागाई र केन्द्रीय सदस्य सुभाष साहतर्फ इंगित गरेका हुन् । आइतबार बसेको उपलब्ध पदाधिकारी र सदस्यको वैठकको माइन्यूटमा चौलागाईंले हस्ताक्षर गरेका थिएनन् भने बैठक चलिरहेकै बेला साह बाहिरिएका थिए । यति मात्रै नभएर उपलब्ध पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकमा प्रेस युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यले समेत असहयोग गरेका थिए । त्यसतर्फ पनि पोख्रेलले राजिनामा पत्रमा इंगित गरेका छन् ।

यति मात्रै नभएर अध्यक्ष पोख्रेलले बाह्य सरोकारवाला पक्षले समेत सदस्यता सूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने भनेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेततर्फ इंगित गरेका हुन् । महासंघका अध्यक्ष पोख्रेललाई चौतारी अध्यक्ष बस्नेतले सदस्यको सूची आफुलाई देखाएर टुंगो लगाए मात्रै निर्वाचन हुने सन्देश पठाएका थिए ।

उपाध्यक्ष विष्ट स्वत कार्यवाहक अध्यक्ष

पत्रकार महासंघका अध्यक्ष पोख्रेलले राजीनामा दिएसँगै अब निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौल छाइरहेको छ । अध्यक्षले राजिनामा दिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा स्वतः बरिष्ठ उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुनसक्ने स्पष्ट व्यवस्था महासंघको विधानमा छ ।

विधानको दफा २२ मा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएका छन् । उपदफा १ को खण्ड ‘क’ मा भनिएको छ, ‘अध्यक्ष कुनै कारणले काम गर्न असमर्थ भएमा, काम विशेषले देशबाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यबाहक अध्यक्षले निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्ने जिम्मेवारी हुने छ ।’

यस्तै खण्ड ‘ख’ मा महासंघको निर्णय कार्यान्वयन गर्ने गराउने र खण्ड ‘ग’ मा अध्यक्ष वा केन्द्रीय समितिबाट आफुलाई सुम्पिएको वा तोकिएको कर्तव्यको पालना र अधिकारको प्रयोग गर्ने अधिकार दिइएको छ ।’

विधानतः पोखरेलको राजिनामासँगै महासंघका बरिष्ठ उपाध्यक्ष विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः पाउनुपर्ने देखिन्छ । पोखरेलले पनि राजीनामा पत्रमा विष्टलाई आर्थिक अधिकार सहित कार्यवाहक अध्यक्षको जिम्मा दिने बताएका छन् ।

तर, वरिष्ठ उपाध्यक्ष विष्टले महासंघका अध्यक्ष पोख्रेलको राजीनामापत्र आफ्नो हाता परिनसकेको नेपाल प्रेसलाई बताए । आज महासंघको कार्यालयमा पुगेर अध्यक्षले राजिनामा दिएको आधिकारिता बुझ्ने र उपलब्ध पदाधिकारी एवं केन्द्रीय समितिको बैठक बसेर बिधानअनुसार अघि बढ्ने उनको भनाइ छ ।

विष्टले भने, ‘अध्यक्षज्यूले केही दिनदेखि राजीनामा दिन्छु भनिरहनुभएको थियो । राजीनामा पत्र मैले हेरिसकेको छैन । पदाधिकारी र उपलब्ध केन्द्रीय समिति बैठक बसेर विधान अनुसार आवश्यक निर्णय गरेर अघि बढ्छौ ।’

बरिष्ठ उपाध्यक्ष विष्टका अनुसार महासंघको सदस्ययको टुंगो लागिसकेर अभिलेखमा राख्न मात्रै बाँकी छ । सदस्यता बापतको २ करोडभन्दा बढी रकम उठाउन बाँकी रहेको र ५० प्रतिशत कल्याणकारी कोषमा जाने भएकाले निर्वाचन कार्यतालिका केही हेरफेर हुन सक्ने उनी बताउँछन् । तोकिएको मिति असोज ५ गते नै निर्वाचन हुने नहुने विषयमा भने बैठकले नै टुंगो लगाउने बिष्टको भनाई छ ।

महासंघका महासचिव पुरीले पनि अध्यक्षले राजिनामा दिएको पत्र सार्वजनिक भएपछि र मिडियामा समाचार आएपछि अध्यक्षसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको बताए ।

उनले भने, ‘पहिले त उहाँको आधिकारिक राजिनामा हो कि होइन भन्ने पुष्टि गर्न खोजिरहेका छौ । राजीनामा दिएको नै हो भने मंगलबार उहाँलाई भेटेर सकभर राजीनामा फिर्ता लिन आग्रह गर्छौं । फिर्ता लिनु भएन भने विधान अनुसार अघि बढ्छौ ।’

दलनिकट संगठन तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने पक्षमा

नेपली कांग्रेसनिकट नेपाल प्रेस युनियनले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताएको छ । युनियनका अध्यक्ष शिव लम्सालले सदस्यता विवाद टुंगो लागेर निर्वाचन समितिलाई बुझाइसकेको जानकारी पाएकाले जसरी पनि तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘महासंघको महाधिवेशन सकिइसकेको र निर्वाचन मात्रै बाँकी रहेकाले अब तोकिएकै मितिमा हुनुपर्छ । सदस्यताको सवालमा विवाद समाधान भइसकेको छ र तीन वटै संघ संगठनले आफ्नो तर्फबाट सैद्धान्तिक सहमति जनाइसक्नुभएको छ । सदस्यको सूची तयार गरेर निर्वाचन समितिलाई बुझाउने काम पनि भइसकेको जानकारी पाएका छौ । निर्वाचन प्रक्रियाका लागि सबै प्रक्रिया पुरा भइसकेकाले कुनै पनि बहानामा निर्वाचन रोकिनु हुँदैन ।’

अध्यक्षको राजीनामाको विषयमा भने युनियनका अध्यक्ष लम्सालले सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका समाचारकै आधारमा आधिकारिक मान्न नमिल्ने बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएको विषयमा महासंघले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । महासंघका अध्यक्षले पनि राजीनामा दिएको भनेर आधिकारिक रुपमा भन्नुभएको छैन । यदि राजीनामा नै दिएको भए पनि निर्धारित समयमा निर्वाचन हुनुपर्छ ।’

प्रेस चौतारी नेपालले पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान लिएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले आफ्नो महासंघका अध्यक्षसँग कुराकानी भएको र राजीनामा नदिएको बताएको दावी गरे ।

उनले भने, ‘मेरो विपुलजीसँग कुराकानी हुँदा राजीनामा दिएको छैन भन्नुभयो । राजीनामा दिएको साँचो हो र मलाई ढाँटेको हो भने त्यो हामीले अपेक्षा गरेका थिएनौ । हामी प्रमुख ३ संगठनका अध्यक्षले नै महासंघका अध्यक्षसँग तपाईको नेतृत्वको महासंघले गरेको निर्णय मान्छौ भनेर भनेका थियौ । कुनै पनि बहानामा तोकिएको मितिमा निर्वाचन हुनुपर्छ ।’

प्रेस सेन्टर नेपालले आइतबार उपलब्ध पदाधिकारीको बैठक बसेर नै तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने पक्ष अडान लिएको छ । आइतबार साँझ सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने उल्लेख छ ।

सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले आफ्नो धारणा संगठनले विज्ञप्ती जारी गरेर नै सार्वजनिक गरिसकेको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘प्रमुख ३ संगठन बसेर सदस्यता विवादको टुंगो लगाएर समझदारी गरिसकेका छौं । मतदाता नामावली पनि निर्वाचन समितिमा गइसकेको छ । तोकिएको मिति असोज ५ मा जसरी पनि निर्वाचन हुनुपर्छ ।’

महासंघका अध्यक्ष पोख्रेलले राजीनामाको विषयमा आधिकारिता पुष्टि नभएको जुगलले बताए ।

उनले भने, ‘राजीनामा दिएको पत्र त सार्वजनिक भएको छ, तर उहाँ आफैले केही भन्नुभएको छैन । सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएकै आधारमा भन्न सकिदैन । उहाँले राजिनामा दिइहालेको अवस्थामा पनि अरु पदाधिकारी र सिंगो कार्यसमिति छ । नयाँ नेतृत्व नआउञ्जेल अहिलेकै कार्यसमिति कायमै रहन्छ । निर्वाचन समिति पनि बनिसकेको छ । निर्वाचन समितिले तोकिएकै समयमा निर्वाचन गर्न अघि बढ्नुपर्यो ।’

के छ नेपाल पत्रकार महासंघको विधानमा ?

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) ले हरेक ३ वर्षमा निर्वाचन भइसक्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै विषय अवस्था उत्पन्न भएमा बढीमा ६ महिनाभित्र निर्वाचनका लागि अर्को मिति तोक्नुपर्छ । यदि यसरी मिति तौक्दा पनि विभिन्न कारणले काबु बाहिरको अवस्था आएर निर्वाचन हुन नसकेमा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर बढीमा ६ महिना भित्र निर्वाचन गर्नुपर्ने हुन्छ ।

विपुल पोख्रेल नेतृत्वको नेपाल पत्रकार महासंघ २०७७ चैत २८ गते निर्वाचित भएको थियो । २०८० चैत २८ गते उनको कार्यकाल सकियो । विधानको व्यवस्था अनुसार आगामी असोज २८ गतेसम्म अहिलेको केन्द्रीय समितिले निर्वाचन गर्न सक्नेछ । तर, असोज २८ मा पनि निर्वाचन हुन नसकेको अवस्थामा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर आगामी चैत २८ गतेसम्म निर्वाचन गरिसक्नुपर्नेछ । यदि यस्तो अवस्थामा पनि हुन नसकेको अवस्था के हुन्छ भन्ने विषयमा पत्रकार महासंघको बिधानमा उल्लेख छैन ।

महासंघले सुरुमा गत जेठ २६ गते, त्यसपछि गत असार २२ गते र अहिले असोज ५ गतेका लागि निर्वाचन तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर