सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ, छानबिनका लागि निम्सले सरकारलाई दिए धन्यवाद – Nepal Press

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ, छानबिनका लागि निम्सले सरकारलाई दिए धन्यवाद

काठमाडौं । सगरमाथामा गत आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडिओका सन्दर्भमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ ले सफाइ पाएका छन् । उनले अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडिओको सामाजिक सञ्जालको सार्वजनिक गरेपछि सरकारले छानबिन गरेको थियो ।

पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य सचेत गराएर सफाइ दिएको हो ।

विभागले गत साउन २२ गते नै पुर्जालाई भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन लिखित निर्देशन दिएको छ । योसँगै पुर्जालाई नेपालमा हिमाल आरोहणमै प्रतिबन्ध लगाउन केही व्यक्ति तथा प्रतिस्पर्धी व्यवसायीहरुले गरेको प्रयास असफल भएको छ ।

यसैबीच आरोही पुर्जाले सगरमाथामा डोरी काटिएको छानबिन प्रकरणमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारको पारदर्शिता र प्रतिबद्धताप्रति आभारसमेत प्रकट गरेका छ ।

पुर्जाले भनेका छन्, ‘नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ । मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ । म सत्यको समर्थन गर्ने सबै पर्वतारोही साथीहरूलाई नमन गर्दछु, विशेष गरी दुई पटक १४ शिखर आरोहण गरेका सानु शेर्पाजस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु ।’

केही समयअघि सगरमाथामा डोरी काटिएको घटनाबारे भ्रम फैलाएको आरोप पुर्जामाथि उनका विरोधीले लगाएका थिए । पर्यटन विभागले यस घटनाको छानबिन गर्ने घोषणा गरेको थियो र करिब २ महिनाको छानबिनपछि प्रतिवेदनमा पुर्जालाई दोषी नरहेको भन्दै औपचारिक पत्र प्रदान गरिएको छ । विभागले पुर्जालाई घटनामा सचेत गराउँदै आरोहीहरूको सुरक्षाप्रति गम्भीरता देखाएको छ ।

पुर्जाले आफू र अरू हजारौं गाइड र आरोहीहरूको जीवन जोखिममा राखेर उठाएको आरोहीको सुरक्षाको सवालमा सरकारको साथ अनिवार्य थियो भन्दै यो सामूहिक प्रयासले देशको अर्थतन्त्र स्वाभिमान र उन्नतिलाई उचाईमा पुर्याउने बताएका छन् ।

गत मे महिनामा सगरमाथा आरोहणको क्रममा क्याम्प ४ र बाल्कोनीको बीचमा डोरी चुँडिएको थियो । यस घटनामा उपस्थित अन्य शेर्पा गाइडहरूले समेत डोरी चुँडिएको साँचो भएको पुष्टि गरेका थिए । यो घटनाका कारण पुर्जाका एक विशिष्ट क्लाइन्टले आफ्नो आरोहण रद्द गरी स्वदेश फर्केका थिए ।

यसअघि, पुर्जाले हिमाल आरोहणमा सबैको सुरक्षालाई महत्त्वपूर्ण भन्दै, हिमालमा राजनीति गर्नु दुःखद भएको बताएका थिए । त्यो बेला उनले भिडियो सार्वजनिक गरेपछि पर्यटन विभागले आपत्ति जनाउँदै छानबिनको प्रक्रिया अघि बढाएको थियो । अहिले, छानबिन प्रतिवेदनले पुर्जालाई अबदेखि यस्ता विषय विभागको सहमतिबाट मात्र ल्याउन भन्दै उनलाई दोषमुक्त गरेको छ ।

पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलका अनुसार, सगरमाथामा डोरी काटिएको घटनाको छानबिन समाप्त भएको छ । यस घटनामा आरोहीहरुले उठाएको सुरक्षाको सवालमा सरकार गम्भीर भएर अगाडि बढ्ने र पर्वातारोहण क्षेत्रलाई सुरक्षित नियमन गर्ने तर्फ सरकारको जोड रहने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्-

सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा (भिडियो)

निर्मल पुर्जाबारे आईएसपीओले मुख खोल्यो- आरोप स्पष्ट नभएसम्म निर्दोष मान्नुपर्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर