राप्ती शान्ति उद्यान बोटिङ पुलमा राजनीति- डिल्लीले रोके मुख्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम
दाङ । कांग्रेस नेता डिल्ली चौधरीका कारण तुलसीपुरको राप्ती शान्ति उद्यानमा बोटिङ पुल उद्घाटन रोकिएको छ । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट पुल उद्घाटन गराउने कार्यक्रम तय गरिएको थियो ।
तर, लुम्बिनी कांग्रेसका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री चौधरीको दबाबमा निर्धारित कार्यक्रममा रद्द गरिएको उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए ।
´हामीले आज मुख्यमन्त्रीबाट बोटिङ पुलको उद्घाटन मुख्यमन्त्रीबाट गराउने तयारी गरेका थियौँ, `अध्यक्ष भण्डारीले भने,´तर, डिल्ली चौधरीले मुख्यमन्त्रीलाई आउन नदिएपछि उद्घाटन कार्यक्रम रोक्नु पर्यो ।`
डिल्ली चौधरीले मैले बजेट हालेको ठाउँमा तपाईँ जान हुन्न भनेर दबाब दिएपछि मुख्यमन्त्री रोकिएको बताइएको छ ।
पूर्वमुख्यमन्त्री चौधरीले पनि बोटिङ पुल उद्घाटनमा आफ्नो असहमति भएको स्वीकार गरे । उनले आफ्नो पालामा बजेट हालेकाले त्यसको हकदार आफू भएको दाबी गरे ।
´बजेट हालेको मैले हो । मलाई नबोलाएपछि उद्घाटनमा जान लागेका मुख्यमन्त्रीसँग असहमति राखेको हुँ`, उनले भने,´मेरो निर्वाचन क्षेत्रमा मलाई त बोलाउन पर्यो नि !`
७७ मिटर लम्बाई र १८ मिटर चौडाइ क्षेत्रफलमा रहेको बोटिङ पुलमा ४४ लाख प्रदेश सरकारले लगानी गरेको छ भने २० लाख उद्यान स्वयंले लगानी गरेको छ । त्यसमा त्यस दुईवटा डुंगा तुलसीपुर उपमहानगरले दिएको छ । मुख्यमन्त्री आचार्य चौधरीको दबाबमा नआएपछि बोटिङ पुल सञ्चालन अनिश्चित भएको छ ।
आयोजकले मुख्यमन्त्री आचार्यका नाममा शिलालेखसमेत तयार गरिसकेको छ ।