बुबालाई सम्झिँदै संसदमा सुहाङको सम्बोधन- घृणा र उत्तेजनाको राजनीतिले समाज विघटनतर्फ जान्छ (भिडिओ) – Nepal Press

बुबालाई सम्झिँदै संसदमा सुहाङको सम्बोधन- घृणा र उत्तेजनाको राजनीतिले समाज विघटनतर्फ जान्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले समस्या, निराशा र अवरोधहरुलाई पछ्याएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने अठोटका साथ एमाले र कांग्रेस एकै ठाउँमा उभिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पछिल्लो समयमा समाजमा देखिएको भाष्य चिर्नको लागि सरकारले काम गरिरहेको बताए ।

उनले आफ्नो बुबा सुवासलाई सम्झिँदै देश निर्माणका लागि सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मेरो बुबाले सधैं भन्नुहुन्थ्यो, ‘सहमति र सहकार्य ।’ उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो । हो, यही मान्यताको साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो । आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु । मेरो बुबा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।’

उनले अहिलेजस्तै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीवेहरी चलाइरहने हो भने नेपाली समाज विघटनतर्फ नजाला भन्न नसकिँने बताए ।

उनले भने, ‘मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ । असहिष्णुताको आँधीवेहरी होइन सुसंस्कृत समाज निर्माण गरौं । बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर