सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाइएपछि प्रधानमन्त्रीले कर्मचारीलाई भनेः अब सरकारी काम मात्र गर्नू
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा सरकारी काम मात्र गर्न आग्रह गरेका छन् । सरकारी कार्यालयमा कार्यालय समय भरि शेयर कारोबार गर्नु अमान्य भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी काममा मात्र ध्यान दिन उनले भनेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्, ‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्न नमिल्ने गरी टीएमएस बन्द गर्न भनेको थियो ।
सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । कार्यालय समयमा टीएमएस चलाएको वा नचलाएको अनुमगनका लागि विशेष प्राविधिक टोलीको व्यवस्था गर्न पनि भनिएको छ । शेयर कारोबार भएको छ वा छैन भनेर अनुगमन टोलीले कडा निगरानी गर्नेछ ।
सिंहदरबारभित्र शेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको हो ।
राम्रो काम केपि बा
अझै यस्तै राम्रो काम हरु धेरै सुन्न पाइयोस्
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमान्स्थल मा
अन्तर्राष्ट्रिय उडान हरु सुरु होउन्
यो कार्यकाल मनमोहन अधिकारी को
कार्यकाल जस्तै बनाउनु होला
धेरै धेरै शुभकामना