पत्रकार महासंघलाई दलीय दलदलबाट जोगाऔं, व्यक्तिगत स्वार्थ त्यागौं – Nepal Press

पत्रकार महासंघलाई दलीय दलदलबाट जोगाऔं, व्यक्तिगत स्वार्थ त्यागौं

पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंगका रूपमा परिभाषित गरिन्थ्यो, तर अब यो अन्तिमतिर पुग्ला जस्तो छ ! पत्रकारिता क्षेत्रको विकाससहित पत्रकारको हकहितमा स्थापना भएको नेपाल पत्रकार महासंघ नै अहिले अन्यौलपूर्ण अवस्थामा पुगेको छ । नेतृत्वदायी भूमिका निर्वाह गरेको संस्था आफैं थला परेपछि यसले अविश्वासको वातावरण पैदा भएको छ ।

सक्रिय र निस्क्रियमात्र शुद्धीकरण गर्नुपर्ने अवस्थामा नेतृत्वकर्ताको व्यक्तिगत र संघ संगठनको स्वार्थका कारण पत्रकार महासंघले आफना सदस्यता कति हुन् भन्ने नै टुंगो लगाउन सकेन ।

शुद्धीकरणको नाममा काम गरिरहेका र महासंघको तदर्थ समिति निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकारलाई अर्को संगठनको सिफारिसमा हटाउने र आफू निकटमा व्यक्ति हाल्ने काममात्र जारी रहयो । यसको जिम्मा पत्रकारका संघ संगठनले लिनुपर्छ । सक्रियरूपमा काम गरेका पत्रकारहरूलाई मात्र सदस्यताको लागि सिफरिस गरेको भए अहिलेको अवस्था नै सृजना हुने थिएन ।

पत्रकारका संघ संगठनहरू पनि दलका भ्रातृ संगठनको रूपमा काम गर्छन् भन्ने आरोप खेपिरहेको अवस्थामा हामी त्यस्ता होइनौं भन्नेतर्फ भन्दा पनि शुद्धीकरणका नाममा संख्या बढाउने र घटाउने तर्फ पत्रकारका नेताहरू लागे । व्यक्ति जो भएपनि पत्रकार महासंघलाई विशुद्ध पत्रकारको हकहितका लागि बनेको संस्था बनाउन नसक्दा अहिलेको समस्या देखिएको हो ।

२०६२/०६३ सालसम्म पत्रकार महासंघको जुन साख र मर्यादा थियो त्यो बिस्तारै यस्ता गतिविधिले घटाउँदै लगेको छ । पदावधि सकिएर महासंघमा अर्को नेतृत्व छनौट गर्नुपर्ने अवस्थामा पटक-पटक घोषणा गरेको मितिपछि धकेलिँदै गएको छ । सबै पक्षलाई मिलाएर निर्वाचन प्रक्रिया पूरा गर्ने अवस्थामा नेतृत्वदायी भूमिकामा रहेका अध्यक्षको नै राजीनामा आयो । अव विस्तारै पालैपालो राजीनामा नआउला भन्न सकिएला त ?

नेपाल पत्रकार महासंघलाई स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संघर्षको एक जीवित दस्तावेजकारूपमा मानिन्थ्यो । महासंघले अगामी दिनमा पनि यसलाई कायम राख्दै स्वतन्त्रता र अभिव्यक्ति अधिकारको रक्षा गर्नुपर्ने आवश्यकता छ । महासंघले आफूलाई राजनीतिक दबाब र हस्तक्षेपबाट बचाई राख्न र पत्रकारहरूको अधिकार र हकहरूको रक्षा गर्न सशक्त र प्रभावकारी दृष्टिकोणका साथ अगाडि बढ्न सकेमा यसको साख फेरि बढाउन सकिन्छ । यसका लागि महासंघको नेतृत्व गरी रहेका पदाधिकारीले सबै पक्षको समन्वयमा भावी कार्यक्रम अगाडि बढाउनुपर्छ साथै निर्वाचन अव हुने वातावरण बनाउनुपर्छ ।

महासंघलाई कब्जा गर्ने भन्दा पनि सबै क्रियाशील पत्रकारको हकहितमा काम गर्ने संस्थाकारूपमा पत्रकारका पार्टीगत संघ संगठनहरू पनि अगाडि बढ्न आवश्यक छ । आफ्ना जति क्रियाशील पत्रकार छन् त्यतिमात्र महासंघको सदस्याताका लागि सिफारिस गर्दे अनावश्यरूपमा थपिएका नामहरू हटाउन सबै पक्ष एक ठाउँमा बसौ ।

केही व्यक्ति र पत्रकार संघ संगठनहरूको स्वार्थका कारण पत्रकार महासंघलाई बन्दी नबनाऔं । नेपाल पत्रकार महासंघको भूमिका अझै पनि नेपाली समाजको लोकतान्त्रिक विकास र अभिव्यक्ति स्वतन्त्रताका लागि बलियो हुन जरुरी छ ।

पत्रकारिता, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हकहितका लागि लड्ने संस्था नेपाल पत्रकार महासंघलाई बलियो बनाउन सम्पूर्ण श्रमजीवी पत्रकार एकजुट भई व्यक्तिगत र संगठनको स्वार्थमा लागेकाहरूलाई खबरदारी गरौं । विगतका गल्तीलाई सुधार्दे महासंघको नेतृत्वकर्ता र संघ संगठन पनि अवका दिनमा जिम्मेवार बन्न जरुरी छ । जय पत्रकार महासंघ !

(लेखक कोइराला भोजपुरमा बसेर पत्रकारिता गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर