विश्वकप लिग–२ मा नेपालका प्रतिस्पर्धी क्यानडा र ओमान छैनन् गतिलो लयमा – Nepal Press

विश्वकप लिग–२ मा नेपालका प्रतिस्पर्धी क्यानडा र ओमान छैनन् गतिलो लयमा

काठमाडौं। गत फेब्रुअरीमा नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग विश्वकप लिग-२ को पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्नुअघि तयारिका रुपमा क्यानडासँग खेलेको थियो। ३ खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा क्यानडा निरिह बन्यो, नेपालले क्लिन स्विप गर्यो।

क्यानडा त्यसपछि विश्वकप लिग-२ शृंखला खेल्न यूएई पुग्यो। नेपालले घरेलु मैदानमा अपेक्षाविपरित नामिबियासँग दुवै खेल हार्योल भने नेदरल्यान्ड्ससँग एक जित र एक हारको नतिजा निकाल्यो। उता यूएईमा क्यानडाले घरेलु टोली र साविक विजेता स्कटल्यान्डविरुद्ध भएका सबै चार खेल जित्यो।

सोही क्यानडासँग विश्वकप लिग-२ को शृंखला खेल्न नेपाल यतिबेला उसको घर पुगेको छ। क्यानडामा नेपालले घरेलु टोली र ओमानसँग दुई दुई खेल खेल्ने छ। यसबीचमा क्यानडा क्रिकेटले निराशाजनक नतिजा ब्यहोर्यो।

पहिलो शृंखलामा चारवटै खेल जितेको क्यानडा दोस्रो शृंखलामा भने जितविहिन बन्न पुग्यो। उसले नेदरल्यान्ड्स र अमेरिका सम्मिलित शृंखलामा कुनै जित हात पार्न सकेन। यता ओमानको अवस्था पनि त्यति बलियो छ। गत संस्करणमा उपविजेता बनेको ओमानले चार खेलमा दुई हार र एक जितको नतिजा निकालेको छ भने एक खेल रद्ध भएका कारण अंक बाँढ्नु पुगेको थियो।

नेपाली टोलीले यी दुई टोलीविरुद्ध हुने चार खेल जितेमा अंक तालिकाको शीर्ष-३ भित्र पुग्ने छ।

४ खेलबाट २ अंक भएको नेपाल तालिकाको सातौँ स्थानमा छ। ओमान समान खेलपछि ३ अंक जोडेर छैटौँ स्थानमा छ। तेस्रो स्थानमा रहेको क्यानडाको ८ खेलबाट ८ अंक छ। ८ खेलबाट १२ अंक भएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ७ खेलबाट ९ र ८ खेलबाट ८ अंक भएको नामिबिया चौथो स्थानमा छ। पाचौँ स्थानमा रहेको अमेरिकाको ४ खेलबाट ४ अंक छ। ८ टोली रहेको प्रतियोगितामा यूएईले ३ खेल खेलेपनि अंक जोड्न सकेको छैन। नेपालले जित हात पारेको एक मात्र खेल हाल शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सविरुद्ध थियो।

यस्तै गत जुलाईमा भएको विश्वकप लिग-२ को आफ्नो पहिलो शृंखलामा ओमानले स्कटल्यान्ड र नामिबियासँग खेलेको थियो। नामिबियासँग एक जित र एक हारको नतिजा निकालेको ओमानले स्कटल्यान्डसँग एक खेल हारेको थियो भने एक खेल रद्ध भएका कारण अंक बाँढ्न पुगेको थियो। केवल एक सय २४ रनको लक्ष्य पाएको स्कटल्यान्डले १२।२ ओभरमा २ विकेट गुमाएर ९९ रन जोडेको अवस्थामा थप खेल सम्भव नहुँदा ओमान भाग्यमानी बनेको थियो।

नेपाल र ओमान अन्तिमपटक १६ महिनाअघि कीर्तिपुर मैदानमा भएको एसिसी प्रिमियर कप खेलमा भिडेका थिए। त्यस खेलमा नेपालले ३ सय ११ रनको लक्ष्य दिएको थियो भने ओमानले २ सय २६ रन मात्र जोड्न सकेको थियो।

जारी विश्वकप लिग-२ मा क्यानडाका हर्ष थाकरले ८ खेलमा २ सतक र एक अर्धसतकसहित ३ सय ४६ रन जोडेर सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन्। पर्गत सिंहले पनि २ अर्धसतकसहित २ सय २६ र श्रेयस मोव्वाले २ अर्धसतकसहित २ सय १३ रन बनाएका छन्।

ओमानका लागि अकिब इल्यासले एक अर्धसतकसहित एक सय ३०, नेपालका आसिफ शेखले दुई अर्धसतकसहित एक सय ३३, एक अर्धसतकसहित कुशल भुर्तेलले एक सय १२ र एक अर्धसतकसहित खालिद काइलले एक सय रन जोडेका छन्।

बलिङतर्फ क्यानडाका डाइलन हेलिगरले ८ खेलमा १४ विकेट लिएका छन्। कलिम सानाले ७ खेलमा १२ र साद बिन जाफरले ८ खेलमा १२ विकेट हात पारेका छन्। थाकरको नाममा पनि ८ विकेट छ। नेपालका कुशल भुर्तेलले ७, ललित राजबंशीले ६ तथा ओमानका बिलाल खानले ६ विकेट लिएका छन्।

आसन्न शृंखलाको पहिलो खेल नेपालले सेप्टेम्बर १६ तारिखमा क्यानडाविरुद्ध खेल्ने छ। त्यसपछि नेपालले क्यानडासँग सेप्टेम्बर २२ तथा ओमानसँग सेप्टेम्बर १८ र सेप्टेम्बर २४ तारिखमा प्रतिस्पर्धा गर्ने छ।

नेपाली टोलीका प्रशिक्षक मन्टी देसाई टी(२० विश्वकपमा भएको प्रदर्शनले नेपाली टोलीको आत्मविश्वास बलियो रहेको बताउँछन्। उनले नेपाली टोलीले जितको मानसिकता देखाउने विश्वास व्यक्त गरे। ‘हरेक खेलाडीले आफुलाई दिइएको भूमिका राम्रोसँग निर्वाह गर्नुपर्छ। जितको मानसिकता विगतमा हामीले धेरैपटक देखाएका छौँ’, उनले मंगलबार आयोजित विदाई कार्यक्रममा भने।

अनुभवि सन्दीप लामिछानेले घरेलु मैदानमा ब्यहोरेको हार बिर्सिएर नेपालले क्यानडामा आफुलाई बलियो एसोसिएट टोलीका रुपमा प्रमाणित गर्नुपर्ने बताउँछन्। विश्वकप लिग-२ मा नेपालले ९ वटा शृंखलामा कुल ३६ खेल खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *