कोटिहोममा विजय कृष्णमुर्तिका खर्चः स्वयंसेवकलाई सवा चार करोड, मिडियालाई १ करोड ८ लाख
हेर्नुस् विजय कृष्णमुर्तिले देखाएका आम्दानी र खर्चको विवरण
काठमाडौं । पशुपति मन्दिरमा आयोजित कोटिहोममा अथाह रकम दान संकलन भए पनि घाटा लागेको विवरण आयोजक विजय कृष्णमुर्तिले आज प्रस्तुत गरेका छन् । आफूलाई ७२ लाख ५० हजारभन्दा बढी ऋण लागेको उनको अपत्यारिलो दाबी छ ।
कृष्णमुर्तिले देखाएको विवरणअनुसार एक महिनासम्म चलेको धार्मिक उत्सवमा २० करोड १५ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको थियो । तर, खर्च त्योभन्दा पन बढी २० करोड ८८ लाख भएको विवरण उनले सुनाए ।
झण्डै २१ करोड रुपैयाँ के–के मा भयो त खर्च ? कृष्णमुर्तिका अनुसार सबैभन्दा बढी खर्च स्वयंसेवकका लागि भएको छ । ‘स्वयंसेवक’ शब्दले कुनै भुक्तानी नलिइकन सेवाभावले गरिने कामलाई बुझाउँछ । तर, आफूले स्वयंसेवकलाई मात्रै ४ करोड २६ लाख ५३ हजार ५० रुपैयाँ भुक्तानी दिएको कृष्णमुर्ति बताए ।
एक महिनाको कोटिहोम लगाउँदा स्वयम्सेवकलाई झण्डै एक वर्षको भुक्तानी
यस विषयमा प्रकाश पार्दै उनले यस्तो भनेः
कुन व्यक्तिलाई कति पैसा दिइयो भन्ने चेकमार्फत भुक्तानी लिएको रेकर्डहरु छ । आजसम्म मैले काम गरेको थिएँ भनेर सडकमा लडाईं गर्ने, मिडियामा इन्टरभ्यू दिने साथीहरु हुनुहुन्छ । सकेसम्म बोलाएर हाजिर हेरेर पठाएको अवस्था छ । काम गर्दै नगरेका कोही, दुई दिन आएर एक महिना हराएका कोही, आएर प्रसाद मात्र खाएर गएका तर कामको सिन्को पनि नभाँचेकाले पनि दाबी गर्नुभएको छ । अझै पनि कसैलाई तिर्नु छ भने मजाले आउन सक्नुहून्छ । कसैको एक रुपैयाँ खानु छैन । मैले त १७ वर्षदेखि गर्दै आएको कुरा हो । जति राम्रो गरे पनि मलाई अहिलेसम्म कसैले भनेका छैन । अलिअलि केही हजुरहरु (पत्रकार) मध्ये, मलाई लाग्छ यहाँ ७५ प्रतिशत हुनुहुन्छ होला मलाई राम्रो भन्ने । अहिले आएर त्यस्तो महसुस भयो । नत्र जति राम्रो गरे पनि बंगाएकै हुनुहुन्छ । नेपालमा त्यस्तै छ हेरिस्यो ।’
कोटिहोमका लागि गत वर्ष मंसिरदेखि नै स्वयम्सेवक हायर गरेको कृष्णमुर्तिले बताए । अहिले भदौसम्म आउँदा १० महिना आफूले स्वयम्सेवक पालेको उनको भनाइ छ ।
‘कतिलाई साउनसम्मको एग्रिमेन्ट गरेका थियौं, खाजा–खाना र बासस्थान समेत दिएका थियौं’, उनले भने, ‘कतिपयले हामीलाई भदौसम्म नै सहयोग गर्नुभएको छ ।’
कृष्णमुर्तिका अनुसार कोटिहोको प्रचारका लागि गरिएका विभिन्न र्याली (ट्याक्सी, रिक्सा, मोटरसाइकल र साइकल र्याली) मा १९ लाखभन्दा बढी खर्च भयो । ४२७ वटा ट्याक्सीलाई दुई हजारको दरले, १४२ वटा रिक्सालाई ३ हजारको दरले, ५३६ वटा मोटरसाइकललाई एक हजारका दरले र साइकललार्ई ५–५ सय रुपैयाँ दिइएको थियो । उनीहरुलाई पानी आफ्नै व्यक्तिगत खर्चमा उपलब्ध गराएको कृष्णमुर्तिले बताए ।
कृष्णमुर्तिले कोटिहोममा आएका धार्मिक गुरु र कथावाचकहरुलाई कति दक्षिणा दिए भन्ने व्यापक चासो थियो । आजको पत्रकार सम्मेलनमा उनले पण्डित तथा कथावाचकहरुलाई झण्डै दुई करोड रुपैयाँ दक्षिणा दिइएको बताए ।
कृष्णमुर्तिका अनुसार कोटिहोममा १३५ जना धार्मिक गुरुहरु उपस्थित भएका थिए । उनीहरु सबैलाई दान–दक्षिणासहित बिदाइ गरिएको उनले बताए । भागवत पाठ, रुद्री हवनमा खटिएका गुरुहरुको दक्षिणामा ६५ लाख १४ हजार रुपैयाँ खर्च भएको थियो । आचार्य र विशिष्ट गुरुहरुलाई २७ लाख १३ हजार दिइएको उनले बताए ।
कृष्णमुर्तिको विवरणअनुसार प्रमुख कथावाचकहरुले एकमुष्टरुपमा ७७ लाख रुपैयाँभन्दा बढी दक्षिणा लगेका छन् । प्रमुख कथावाचकमा देवी प्रतिभा, चन्द्रकला सखी, राधिका दासी, दिनवन्धु पोखरेल, कान्ता भट्टराईलगायत छन् ।
देवी प्रतिभालार्ई भारतबाट र चन्द्रकला सखीलाई लण्डनबाट झिकाएको थियो । सबैलाई कोटिहोमस्थलमा ल्याउन हवाइ भाडा र बासस्थानको खर्चको हिसाब छुट्टै छ । गुरु र अतिथिहरुलाई फलफुल र मिठाइ खुवाउन २२ लाख ९२ हजार १२० रुपैयाँ खर्च भएकोसमेत कृष्णमुर्तिले बताए ।
कृष्णमुर्तिले देखाएको अर्को महत्वपूर्ण खर्च भनेको मिडियासम्बन्धी छ । महोत्सव प्रचारका लागि फेसबुक बुस्टसहित विभिन्न मिडियालाई आफूले १ करोड ८ लाख रुपैयाँ बाँडेको उनले स्वीकारोक्ति गरे । मिडियालाई कुन शीर्षकमा पैसा दिएको हो भन्ने उनले खुलाएनन् ।
मोटामोटी खर्चहरुको सूचीः
पशुपति विकास कोष र अन्यलाई भाडाः ५८ लाख १३ हजार
खाद्यान्नः ९३ लाख ९५ हजार
टेन्टः ९७ लाख ५० हजार
साउन्ड सिस्टमः २१ लाख
स्टेसनरी सामानः ७ लाख ४८ हजार
अतिथि र दातालाई सम्मानका सामग्रीः १ करोड ९२ लाख ५७ हजार
गुरु तथा अन्य आगन्तुकलाई बासस्थानः १ करोड २६ लाख ५७५
पकाउने भाँडाः ४ लाख
ग्याँसः ९ लाख ४७ हजार
सवारी साधनको इन्धनः ३१ लाख ७३ हजार
पब्लिसिटीः ८२ लाख
पुजा सामग्रीः ४२ लाख ४० हजार
मिडियाः १ करोड ८ लाख ८७ हजार
कलशः ७२ लाख ३२ हजार
ड्रेसः २५ लाख ८९ हजार
ईंट्टा खटः १२ लाख ५३ हजार
विद्युतीय सामानः ५६ लाख ३४ हजार
बाजाः १४ लाख २८ हजार
सजावटः ३९ लाख ९० हजार
मिठाइः २२ लाख ९२ हजार
भजनः १३ लाख ७५ हजार
गुरु, कथावाचकः १ करोड ८० लाख
गुरु वरणीः १३ लाख ५५ हजार
हवाइजहाज टिकटः ७ लाख ५० हजार
कस्मेटिकः ३ लाख ३६ हजार
कार्यक्रम सञ्चालकः ६४ लाख
सवारी साधनः ५९ लाख १२ हजार
हार्डवेयरः ६२ लाख
भोलेन्टियरः २७ लाख ६४ हजार
भान्सेः २१ लाख ८३ हजार
किताब तथा प्रकाशनः २ लाख ९१ हजार
स्वयंसेवकलाई तलबः ४ करोड २६ लाख ५३ हजार
स्वास्थोपचारः ९५ हजार
र्यालीः १९ लाख ४ हजार
कल डेस्कः १ लाख ३९ हजार
कुलः २० करोड ८८ लाख ३२ हजार ८९४
आम्दानीको विवरणः
रसिद काटेर प्राप्त भएको नगदः १७ करोड ४६ लाख ८३ हजार ३७७
क्यूआरबाट बैंक ट्रान्सफरः १ करोड ३६ लाख ८९ हजार ३४०
रसिद काट्न नआइकन पठाएको रकमः २ लाख २४ हजार ४३१
चेकबाट प्राप्त दान रकमः २२ लाख १९ हजार ५२७
कलश (रसिदबाट)ः ४६ लाख ९८ हजार १२२ रुपैयाँ
कलश (क्यूआर)ः ५ लाख ९७ हजार ८३५
दान पेटिकाबाट प्राप्तः ४१ लाख ७७ हजार ५०
चरुहोमबाटः १८ हजार २३
शालिकराम परिक्रमाः ६१ हजार ४३०
गोप्यदानः ३ लाख ९० हजार ५२८
गुरुलाई हातमा आएको दक्षिणा (विजय कृष्णुमुर्तिलाई)ः २ लाख २३ हजार १७३
जिन्सी बिक्रीबाटः ५ लाख ७५ हजार ७२७
जम्मा प्राप्त दान रकमः २० करोड १५ लाख ८२ हजार ४९०
चेक नसाटिएकोः ११ लाख ८९ हजार