चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै नागरिक (फोटो फिचर) – Nepal Press

चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै नागरिक (फोटो फिचर)

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भएपनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारेको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

२०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो । पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार सुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि सुरु हुन सकेको थिएन । जबकी चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो ।

चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । र अहिले पनि जारी छ ।

सडक बिस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरुको छ ।

यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरुले सडक बिस्तारको कामलाई तिब्रता दिन आन्दोलनसमेत गरेका थिए । आजको फोटो फिचरमा कलंकी—वसुन्धरा सडक बिस्तारबारे अलपत्र र अव्यवस्थित सडकसम्बन्धी केही तस्बिरहरु ।

तस्बिरहरुः न्युज एजेन्सी नेपाल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर