काठमाडौंमा गुन्जियो देउडा, झल्कियो सुदूरपश्चिम र कर्णाली – Nepal Press

काठमाडौंमा गुन्जियो देउडा, झल्कियो सुदूरपश्चिम र कर्णाली

कैलाली । शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको माहौल अन्य दिनहरू भन्दा फरक थियो । करिब १२ बजेपछि यहाँ सुदूरपश्चिम र कर्णालीको झल्को दिने पहिरन, बाजागाजा र झाँकीहरू पुगिसकेका थिए ।

पञ्चेबाजा सहित कार्यक्रम स्थलमा भित्रिएका राष्ट्रपति रामचन्द्र पौडेल करिब डेढ घण्टा सुदूरपश्चिम र कर्णालीका लोक भाकामा रमाए ।

राष्ट्रपति पौडेललाई सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले स्वागत गरेका थिए ।

उनले सुदूरपश्चिम र कर्णालीका भाषा साहित्य र सङ्गीतको संरक्षण संवर्द्धन र प्रचार प्रसारमा कार्यक्रम आयोजना गरिएको बारे सबैलाई जानकारी गराए।

राष्ट्रपति पौडेलले देउडा सुन्न चाहेको कार्यक्रम सञ्चालिका मञ्जु पौडेलले जानकारी गराएपछि स्टेजमा तीन देउडाको रौनक सुरु भएको थियो । ‘चल गोविन्दे चल’ सुरेश शाहीले गाउन थालेपछि देउडा पारखीहरूले आफूलाई रोक्ने सकेनन् जहाँ थिए त्यही नाच्न थाले ।

सुप्रीम मल्ल र कल्पना विष्टको प्रस्तुतिले सबैको ध्यान तान्यो ।

सुदूर सुदूरपश्चिम तिर बैतडीमा पर्छ…
परार साल पहिरो गाको त्यही खी हाम्रो घर..
हिउँदमा त निकै छ बरखामा डर छ..
मर्न बाच्ने जे गर्छ यही भाग्य ले गर्छ..
बझाङ बाजुरा नि भाइ जिन्दगानी यसै हजुर..

केही दिन देखि परिरहेको सुदूरपश्चिमको झरी र झरिरहेको पहिराको ताजा अवस्थाले उक्त गीतले यथार्थ झल्काइरहेको थियो ।

अछामी बड्डो र टिका पुनले ‘आइगयो अछामी बड्डो’ गीत गाउँदा गृहमन्त्री रमेश लेखक, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पनि देउडा खेल्न थालेका थिए। केही बेर अन्य सहभागी र दर्शकसँगै हातमा हात जोडेर दुवै मन्त्री देउडामा रमाए ।

मञ्जु पौडेलले राइजुमा गाउँदा होस् या टेकराज भण्डारीको प्रस्तुति दुबैमा सुदूरपश्चिम र कर्णालीको लोक सङ्गीत झल्किएको थियो । राइजुमामा कलाकारहरूले मौलिक प्रस्तुति दिएका थिए । बझाङ्गी समाजले दिएको अर्को प्रस्तुतिले पनि दर्शकहरूलाई अझै मन्त्रमुग्ध पारेको थियो ।

हेल्प स्कुलको विशेष प्रस्तुतिले सुनमा सुगन्धा थालेको थियो । काठमाण्डौको विद्यालयले सुदूरपश्चिमको कला प्रस्तुत गर्दा सबै आश्चर्य चकित भएका थिए । लक्ष्मी आचार्य र इस्बु सञ्जालले देउडा गाउँदा स्टेजमै देउडा खेल्नेहरूको लर्को लाग्यो।
शनिवार सुदूरपश्चिम र कर्णालीको झल्को दिने प्रस्तुतिहरू मात्रै भएनन् यी दुई प्रदेशमा रहेका स्रष्टाहरूलाई पनि अभिनन्दन गरिएको थियो ।

साहित्यबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित भएका थिए । उनीहरू सबैलाई राष्ट्रपति पौडेलले दोसल्ला ओढाएर र कदर पत्र प्रदान गरेर अभिनन्दन गरेका थिए ।

मौलिक लोक सङ्गीत बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्यलाई सम्मान गरिएको थियो ।कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको थियो । जसले कार्यक्रम हेर्न आएका सबैलाई कार्यक्रम काठमाडौँमा नभई सुदूरपश्चिम मै आयोजना भएको झल्को दिएको थियो ।

‘अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गरेको हौँ । जुन उद्देश्यले कार्यक्रम आयोजना गरेका थियौँ हामी त्यसमा सफल भयौँ’, सांस्कृतिक समाजका अध्यक्ष रामप्रसाद अवस्थीले भने, ।

राजधानीबाट सुदूर–कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको हो । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

अघिल्लो वर्ष भाद्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमै कार्यक्रमको आयोजना गरिएको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आरडी प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र सङ्गीता रोकाय लगायतलाई अभिनन्दन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर