जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा एमालेका सुरेन्द्र भण्डारी निर्वाचित (भिडिओ)
जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
मनिष रमण साहलाई ७२ मतले पछि पार्दै भण्डारी निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार निर्वाचित भण्डारीले १ हजार ६४४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी मनिषले १ हजार ५७२ मत ल्याए ।
संघको अघिल्लो चुनावमा मनिषले बरिष्ठ उपाध्यक्षमा भण्डारीलाई पराजित गरेका थिए । तर यो चुनावमा उही मनिषलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएर बदला लिएका छन् ।
निर्वाचित भण्डारी होटल व्यावसायी हुन् । उनी नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष पनि छन् ।
अध्यक्षका अर्का उम्मेदवार जितेन्द्र प्रसाद साह मात्र २९३ मत ल्याएका छन् । जितेन्द्र अघिल्लो निर्वाचनमा पनि अध्यक्षमा पराजय व्यहोरेका थिए ।
संघको १७ सदस्यीय कार्यसमिति चयनका लागि शनिवार मतदान भएको थियो । संघका ४ हजार ७६ सदस्यलाई मतदाता तोकिएकोमा ३ हजार ५७४ सदस्यले मतदान गरेका थिए ।
अन्य पदाधिकारीको मतगणना जारी छ । चुनावको अन्तिम परिणाम आजै आउने निर्वाचन समितिले जनाएको छ ।