योगेशको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म माओवादीले सदन चल्न नदिने – Nepal Press

योगेशको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म माओवादीले सदन चल्न नदिने

सवा ३ लाई सारिएको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने भएको छ । दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो ।

तर, सत्ता पक्ष आफ्नै अडानमा भएकाले आफूहरू निर्णयबाट ब्याक हुने अवस्था नभएको माओवादी सांसद माधव सापकोटाले नेपाल प्रेसलाई बताए ।

त्यसपछि १ बजेका लागि तय बैठक २ बजेलाई सारिए पनि फेरि सवा ३ लाई सारिएको छ । अहिले पनि नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट सदन बन्धक बनेको छ । योगेशको उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले निरन्तर सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

केही दिनअघि सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर