नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन – Nepal Press

नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्ममा बुझाउन सूचीकृत कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको छ ।

सूचीकृत कम्पनीले असोज मसान्तसम्म बुझाउँनु पर्नेछ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्थाअनुसार वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।

नेप्सेले नवीकरण शुल्कबापत ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएको कम्पनीलाई १ लाख रुपैयाँ र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । यस्तै म्युचुअल फण्डको हकमा भने यो शुल्कमा ५० प्रतिशत छुट गरिएको छ ।

म्युचुअल फण्डहरुले ५० करोड रुपैंया भन्दा बढी चुक्ता पूँजी भएमा ५० हजार रुपैयाँ र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई २५ हजार रुपैंया शुल्क तोकेको छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र आफ्नो सूचीकरण नवीकरण गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार तोकिएको समयभित्र नवीकरण नगरेमा नेप्सेले त्यस्ता धितोपत्रको कारोबार रोक्का गर्नसक्ने समेत सो नियमावलीमा व्यवस्था छ ।

शुल्क बुझाउन चाहनेले ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा जम्मा गर्नुपर्नेछ ।तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा कम्पनीहरुको नवीकरण शुल्कको वार्षिक १० प्रतिशत का दरले जरिवाना तिर्नुपर्ने नेप्सेले जनाएको छ । यस्तै सुचिकरण स्थगन समेत गर्न सकिने व्यवस्था धितोपत्र सूचीकरण विनियमावली २०७५ मा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *